२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको भौतिक प्रगति शतप्रतिशत

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ साउन २१ गते १९:११
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको भौतिक प्रगति शतप्रतिशत

अर्घाखाँची : सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा शतप्रतिशत भौतिक प्रगति र ९९.२५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

आयोजनाअन्तर्गत खुर्साने–पटौटी खण्डमा ४.५ किलोमिटर आरसिसी ढलान, १४ किलोमिटर सब–बेस, पक्की नाली निर्माणको काम सम्पन्न गर्दै सडक कालोपत्रे प्रक्रिया सुरु गरिएको छ ।

सडक आयोजनाका प्रमुख गागलबहादुर भण्डारीका अनुसार गत आर्थिक वर्षमा १९.४ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको थियो । अहिले आयोजनाको समग्र भौतिक प्रगति ३७ प्रतिशत पुगेको छ । हालसम्म २२.५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सालझन्डी–कञ्चनखोला खण्डमा ५ किलोमिटर, खुर्साने–पटौटी खण्डमा ४.५ किलोमिटर, बलेवाङ–फुदबाङ खण्डमा ९ किलोमिटर र रुब्दी खोला–माटे खण्डमा ४ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।

आयोजनाको कार्यक्षेत्रभित्र हालसम्म पाँच वटा पक्की पुल निर्माण सम्पन्न भइसकेका छन् भने ८१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भइसकेको छ । कञ्चनखोला–खुर्साने खण्ड, पाल्पा (१३.४४ किलोमिटर) को निर्माण कार्य रमण–ओम–सुगम जेभीले लिएको छ । खुर्साने–पटौटी खण्ड, अर्घाखाँची (२२ किलोमिटर) को काम पीके–अर्घाखाँची जेभीले गरिरहेको छ । पटौटी–मैदान खण्ड (४.४ किलोमिटर) अमर निर्माण सेवा, अर्घाखाँचीले निर्माण गरिरहेको छ ।

त्यस्तै, माटे–भडारा खण्ड (७.१ किलोमिटर) र पुर्कोटदह–सिर्सेनी खण्ड (१९.१ किलोमिटर) गरि २६.२ किलोमिटर सडक निर्माणको जिम्मेवारी विरुवा–पुष्पा जेभीले लिएको छ । सिर्सेनी–अर्खाबाङ, गुल्मी खण्ड (८.३ किलोमिटर) ब्राइट/हिमाल/यम.यम. जेभीले बनाउँदैछ। अर्खाबाङ–गंगरे, गुल्मी खण्ड (३.७ किलोमिटर) को जिम्मेवारी तामाङ कन्स्ट्रक्सनले लिएको छ भने फल्लेघर–देउराली, बागलुङ खण्ड (३ किलोमिटर) पीटीआर अधिकारी निर्माण कम्पनीले निर्माण गरिरहेको छ ।

हाल सञ्चालनमा रहेका आठवटा ठेक्का सम्झौताहरू सम्पन्न गर्न करिब १ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । तर चालु आर्थिक वर्षमा मन्त्रालयबाट केवल ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको आयोजनाले जनाएको छ । योजना प्रमुख भण्डारीका अनुसार, ५ करोड ८६ लाख रुपैयाँ अघिल्लो वर्षको दायित्व सरेको छ । बाँकी ३२ करोड रुपैयाँमै चालु आर्थिक वर्षको कार्यभार पूरा गर्नुपर्ने बाध्यता रहेको छ ।

यसैबीच, औलाखोला–गच्छे–चुत्राबेसी–रुब्दी सडक खण्डको एलाइन्मेन्ट विवाद समाधानका लागि स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलहरू र सरोकारवालाहरूबीच छलफल गरिएको छ । अब विवाद समाधान भइसकेको र चालु आर्थिक वर्षमै सर्भे सम्पन्न गरिने लक्ष्य रहेको प्रमुख भण्डारीले बताए ।

स्वच्छन्द–ओम बुद्ध जेभीले निर्माण गरिरहेको बुर्तिवाङ–फल्लेघर सडक खण्ड अघिल्लो वर्ष रुग्ण अवस्थामा पुगेपछि ढोरपाटन नगरपालिकामा बृहत् छलफल गरी पुनः सक्रिय बनाइएको हो । सो खण्डमा चालु वर्षमा ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यसहित कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।

त्यस्तै, पाल्पाको कञ्चनखोला–खुर्साने १३.४४ किलोमिटर सडक खण्ड निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीहरूले जनाएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise