जाकार्ता : इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् । अत्यधिक बर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको जनाइएको छ ।
प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालिन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए ।
“दर्जनौ अझै पनि बेपत्ता रहेका छन्, स्थानीय समयानुसार बेलुका छ बजे बाढी आएको थियो,” उनले भने । बाढीबाट प्रभावित भएकाहरुमध्ये तीन हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।
बाढीले दर्जनौ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको सिम्बोलोनले जानकारी दिए । घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies