सल्यान : सल्यानमा स्थानीय सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।
विभिन्न योजना, कार्यक्रम र साझेदारी प्रयासमार्फत स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सरसफाइ, पर्यटन र रोजगारीजस्ता क्षेत्रमा दीर्घकालिन महत्वका काम गरिरहेका छन् ।
यस क्रममा जिल्लाको छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार विकासको क्षेत्रमा विभिन्न उपलब्धी हासिल गरेको छ । एकै वर्षमा गाउँपालिकामा ३० किलोमिटरभन्दा बढी नयाँ सडक निर्माण गरिएको छ भने दुई हजार १८६ मिटर सडक कालोपत्रे गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै ३८ किलोमिटर सडक स्तरोन्नती र ६८ किलोमिटरभन्दा बढी सडक मर्मतसम्भार गरिएको छ ।
गाउँपालिकाका नागरिकसँग प्रत्यक्ष सम्बन्ध भएका योजनाहरूलाई प्राथमिकतामा राखेर काम गरिएको र पालिकामा सामाजिक, भौतिक तथा संस्थागत विकासमा सन्तुलन कायम गर्ने प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए ।
‘जनजीवन सहज, सुरक्षित र समुन्नत बनाउनेतर्फ हाम्रो ध्यान सुरुदेखि नै छ’, उनले भने,‘हामीले सबैसंगको हातेमालोमा योजनाबद्ध ढंगले काम गर्ने प्रयास गरिरहेका छौँ । आगामी दिनमा दिगो विकासको आधार बन्ने हाम्रो विश्वास छ ।’
छत्रेश्वरी गाउँपालिकाले पूर्वाधार विकासतर्फ नै ३ नं वडाको कार्यालय भवन, ६ नं वडामा तला थप, २ वटा गाउँघर क्लिनिक भवन, ३ वटा सार्वजनिक शौचालय, २ नं वडामा स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापन तथा एउटा मन्दिर निर्माण गरेको जनाएको छ ।
शिक्षा र पर्यटनमा पनि गाउँपालिकाको अग्रसरता देखिन्छ । २ वटा विद्यालयमा नयाँ पक्की भवन, ३ वटा सामुदायिक भवन निर्माण र छत्रेश्वरी सतिपीठमा पर्यटन विभागमार्फत पदमार्ग लगायत संरचना निर्माण गरिएको छ । गाउँपालिकाको पहल र माथिल्लो सरकार तथा साझेदार संस्थाको सहयोगमा अन्य ठूला भौतिक संरचनाहरू पनि निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले बताए ।
गाउँपालिकाले खानेपानी, सिँचाइ तथा सरसफाइ क्षेत्रमा सर्वसाधारणको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिएको जनाएको छ । जसअनुसार गाउँपालिकाभित्र २१ वटा नयाँ पानी टंकी, ३० वटा च्याम्बर, १ प्लास्टिक पोखरी, १ सिँचाइ पोखरी तथा १२०० मिटर सिँचाइ कुलो निर्माण गरिएको छ । सुस्वा परियोजना अन्तर्गत ४ वटा ठूला आयोजनामार्फत २८२ घरधुरीलाई सेवा प्रदान गरिएको र जसअनुसार १६७ घरमा नयाँ धारा जडान गरिएको छ । साथै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत थप १२२७ मिटर पक्की सिँचाइ कुलो, २ वटा लिफ्ट खानेपानी आयोजना तथा करिब २२१ मिटर सहायक सडकमा पक्की नाला निर्माण गरिएको छ ।
खानेपानी सुरक्षा योजनाअन्तर्गत ४ वटा योजनामा मर्मत कार्य सम्पन्न गरिएको छ । साथै, खानेपानी क्षेत्रका १२ जना ग्रामीण मर्मत कार्यकर्तालाई तालिम प्रदान गरिएको छ । ३ विद्यालयमा सुविधायुक्त शौचालय निर्माण, एउटा विद्यालयमा मर्मत र अति विपन्न वर्गका ५ घरधुरीमा नयाँ शौचालय निर्माण गरिएको छ । १६ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई जलस्रोत समितिमा दर्ता गरिएको वास इकाइले जनाएको छ ।
रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाको तर्फबाट समेत साझेदारी बजेट विनियोजन गर्दै सल्याव निर्माण, विद्यालय घेरवार, गाउँघर क्लिनिक, विद्यालयको गेट निर्माण, पक्की सिँचाइ कुलो निर्माण, गोरेटो बाटो निर्माण जस्ता पूर्वाधार विकाससँगै बेरोजगारहरुलाई रोजगारी समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।