२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

सिङ्चाङको पाखामा उदाहरणीय कागती खेती

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते ०८:५५
सिङ्चाङको पाखामा उदाहरणीय कागती खेती

नवलपरासी : सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताएका देवचुलीका दीपक चापागाईँ यति बेला कागती टिपेर बजार पठाउन व्यस्त छन् । जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाएका उनी अहिले स्वदेशमै कृषिमा भविष्य खोज्दै छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका-४, सिङ्चाङमा ८० रोपनी जमीनमा चापागाईँको कागती बगैँचा छ । लगानी र व्यवस्थापनमा सहजताका लागि देवचुलीकै देवीप्रसाद भुसालसँग मिलेर पाँच वर्षअघि दुई हजार कागतीका बिरुवा रोपेर थालिएको कागती खेतीले यति बेला उत्पादन दिन थालेको छ । गत वर्ष सामान्य रूपमा केही कागती उत्पादन भएको भए पनि अहिले धेरै बोटमा राम्रो कागती उत्पादन सुरु भएको उनले बताए । 

यो वर्ष मात्र ५० क्विन्टल कागती बजारमा पठाइसकिएको उनले बताए । कागतीले उत्पादन दिन थालेपछि स्वदेशमा कृषिबाटै आम्दानी गर्ने चापागाईँको सपनाले मूर्तरूप लिन थालेको छ । “विदेश बसियो लामो समय, तर यतिकै जीवन जालाजस्तो लागेन, स्वदेश फर्किएपछि पनि यताउता बुझ्ने क्रम रह्यो, अरुअरु व्यवसाय पनि गरेँ, अन्त्यमा अब कागतीको सम्भावना छ भन्ने लागेर खेती सुरु गरियो, फल दिन थालेपछि अब आशा जागेको छ” किसान चापागाईँले भने ।

उनी अनुसार सबैजसो बोटबाट उत्पादन सुरु भएकाले यस वर्ष करिब पाँच सय क्विन्टल कागती उत्पादन हुने अनुमान छ । चापागाईँ र भुसालले सफल कृषि फार्म र भुसाल कृषि फार्ममार्फत सुन्तला र कागती खेतीलाई अगाडि बढाएका छन् । कागती खेती विस्तारका क्रममा रहेको भुसालले बताए ।

दुवै जना मिलेर सिङ्चाङमा सुरु गरेको उदाहरणीय कागती खेतीका कारण यहाँ अन्य किसानसमेत कागती खेतीतर्फ आकर्षित भएका छन् । यहाँ गाउँका अन्य किसानले समेत करिब चार हजार बिरुवा लगाएका छन् । सिङ्चाङ क्षेत्र अहिले कागती उत्पादनको क्षेत्रजस्तै बनेको छ । उनीहरूले कागती र सुन्तलाको बिरुवासमेत उत्पादन गर्दै आएका छन् । नर्सरीका रूपमा बिरुवा उत्पादन गरी बिक्री गर्दै आएको भुसालले बताए । कागती खेतीमा हालसम्म रु. एक करोड बढी लगानी भएको उनको भनाइ छ । कागती खेती सुरु गरेपछि केहीले यहाँ रोजगारीसमेत पाएका छन् । स्थायी रूपमा तीन जना कामदार रहेको र समयसमयमा अन्य कामदारसमेत खटाइने गरिएको छ । नजिकै पर्ने बौदीकाली गाउँपालिकामा उनीहरूले सुन्तला खेतीको समेत थालनी गरेका छन् ।

नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार, जिल्लाभरि हाल करिब एक सय ५० जना किसान कागती खेतीमा संलग्न छन् । नवलपुरमा करिब ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ । नवलपुरमा यस वर्ष करिब पाँच सय मेट्रिक टन कागती उत्पादन हुने अनुमान गरिएको छ । कागतीसँगै नवलपुरमा सुन्तला खेती गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘फलफूल जोन विकास कार्यक्रम’ मार्फत नवलपुरमा कागती खेती प्रवर्द्धन हुँदै आएको छ । कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका वरिष्ठ कृषि अधिकृत देवीप्रसाद अधिकारीका अनुसार किसानलाई नर्सरी व्यवस्थापन, बिरुवाको अनुदान, रोग–कीराको नियन्त्रणका लागि औषधि उपलब्ध गराइएको छ । अनुदानले कागती र सुन्तला खेती गर्नेहरूको संख्या बढाउँदै गएको उनले बताए।

कागती उत्पादन राम्रो हुँदै गए पनि बजारको भने चिन्ता थपिँदै गएको किसानको गुनासो छ । अहिले कागती प्रतिकेजी रु ८५ सम्ममा बिक्री हुँदै आएकाले मूल्यसमेत कम रहेको उनको भनाइ छ । उपयुक्त मूल्यमा बिक्रीका लागि सरोकारवालाले पहल गर्नुपर्ने उनको भनाइ छ ।

कागतीको उत्पादन बढ्दो भएकाले यसको बजारीकरणमा समस्या हुन नदिन बजार खोज्नुपर्ने आवश्यकता देखिएको अधिकारीले बताए । यहाँ उत्पादन भएको कागती स्थानीय बजारमा मात्र खपत हुने अवस्था नरहेकाले काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रमा सहज रूपमा बजारीकरणका लागि पहल भइरहेको उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise