२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

‘सेफ नेपालः द प्रोफेसनल्स’मा १२० जनाको आवेदन, २१ जनाको प्रमाणीकरण पूरा

shivam cement
अनु ढकाल
२०८२ साउन १७ गते २१:१२
‘सेफ नेपालः द प्रोफेसनल्स’मा १२० जनाको आवेदन, २१ जनाको प्रमाणीकरण पूरा

काठमाडौं : व्यावसायिक सेफबीच हुने प्रतिस्पर्धात्मक कुकिङ रियालिटी शो ‘सेफ नेपालः द प्रोफेसनल्स’का लागि हालसम्म १ सय २० जना सेफहरुले आवेदन दिएका छन् । आयोजकका अनुसार नेपाल तथा विभिन्न विदेशी देशमा कार्यरत सेफहरूले शोमा सहभागी हुन आवेदन दिएका हुन् । 

नेपालमा कार्यरत ३५ वटा होटल, रेस्टुरेन्ट तथा शैक्षिक संस्थामा आबद्ध सेफहरूले आवेदन दिएका छन् भने विदेशमा कार्यरत ६५ जना सेफहरूबाट आवेदन प्राप्त भएको छ । विदेशतर्फ भारतबाट २४, अष्ट्रेलियाबाट ८, दुबईबाट ६, साउदी अरेबियाबाट ५, कतारबाट ४, बेलायतबाट ३, डेनमार्क, अमेरिका, माल्दिभ्स र कुवेतबाट २÷२ तथा स्विडेन, क्यानडा, हङकङ, सेसेलिस, ओमन, क्रोएसिया, साइप्रसलगायत देशहरूबाट सेफहरूले आवेदन दिएका छन् । 

हालसम्म प्राप्त १ सय २० मध्ये २१ जना सेफहरूको प्रमाणीकरण प्रक्रिया पूरा भइसकेको छ । प्रमाणीकृत सेफहरूको नामावली सेफ नेपालको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

यो रियालिटी शो विशेषगरी प्रोफेसनल सेफ हरूको लागि हो । सहभागीले कमर्सियल किचनमा पाँच वर्षभन्दा बढीको अनुभव राखेको हुनुपर्छ र डेमी सिडिपीभन्दा माथिल्लो तहको पदमा कार्यरत हुनुपर्ने आयोजकले जनाएको छ ।

हालसम्म आवेदन दिएका सेफहरू विश्वका ख्यातिप्राप्त होटल र रेस्टुरेन्टमा कार्यरत छन् । जसमध्ये दुशित प्रिन्सेस, भिभान्ता, साउदी एयरलाइन्स क्याटरिङ, दुशित थानी माल्दिभ्स, एकेडेमी अफ कलिनरी आट्र्स, सिल्भर माउन्टेन कलेज, मेरियट काठमाडौं, होटल ताज मुम्बई, हायात रेजेन्सी, जुमेराह मस्कट ओमन, मक्र्युर होटल, आल्मा होटल रियाद लगायत संस्थानहरू रहेका छन् । 

देश तथा विदेशमा रहेका इच्छुक सेफहरूका लागि आवेदन खुला नै छ । इच्छुकले सेफ नेपालको वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन् । आवेदन गर्दा सेफहरूले आफ्नो सम्पूर्ण विवरण, फोटो र बायोडाटा अनिवार्यरूपमा अपलोड गर्नुपर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार चाँडै आवेदन प्रक्रिया बन्द गरिनेछ र रियालिटी शोको अन्य तयारीहरू तीव्र रूपमा अघि बढाइने आयोजकले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise