२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

अर्घाखाँची सडक पूर्वाधार कार्यालयको उल्लेखनीय प्रगति, एक वर्षमै १४५ आयोजना सम्पन्न

Nada
सूर्यप्रसाद भुसाल
२०८२ साउन १५ गते २०:१५
Shares
अर्घाखाँची सडक पूर्वाधार कार्यालयको उल्लेखनीय प्रगति, एक वर्षमै १४५ आयोजना सम्पन्न

अर्घाखाँची : भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश अन्तर्गतको अर्घाखाँचीस्थित सडक पूर्वाधार विकास कार्यालयले प्राविधिक जनशक्ति अभाव र विविध चुनौतीका बाबजुद आर्थिक वर्ष २०८१/८२ मा भौतिक तथा वित्तीय प्रगतिमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ । कुल १४ दरबन्दीमध्ये ११ जना मात्र कार्यरत रहेको र प्राविधिक जनशक्ति ६ जना मात्रै हुँदा पनि कार्यालयले जिल्लाभित्र १ सय ८७ आयोजनामध्ये १ सय ४५ आयोजना सम्पन्न गरेको कार्यालयका प्रमुख गोपिराज पुनले जानकारी दिए ।

ncell

उनका अनुसार सो अवधिमा कार्यालयले पुँजीगत बजेटमा ७५.७५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । प्राविधिक प्रगतिमा ३.३२ कि.मि.नयाँ ट्रयाक खोलिएको, ३१ कि.मि.सडक चौडाइ, २७.६७ कि.मि. ग्राभेल, २७.६३ कि.मि. कालोपत्रे तथा ५.३७ कि.मि.ढलान गरिएको छ । साथै, दुईवटा झोलुङ्गे पुलको मर्मत र एक स्ल्याब कल्भर्टको निर्माण कार्यसमेत सम्पन्न भएको छ । कार्यालयले आर्थिक वर्षको अन्त्यमा सञ्चित कोष खर्च गर्न प्रतिबन्ध लाग्नु, अन्तिम समयमा रकमान्तर हुन नसक्नु जस्ता समस्याबीच पनि लक्ष्यअनुसारको प्रगति गर्न सकेको जनाएको छ ।

बेरुजु फर्छ्यौटमा पनि सशक्त उपस्थिति

कार्यालयले विकास निर्माणसँगै आर्थिक अनुशासनमा पनि ध्यान दिँदै ५१.३४ लाख रुपैयाँ बराबरको कुल बेरुजुमध्ये ३८.३२ लाख रुपैयाँ(७६.६४ प्रतिशत) फर्छ्यौट गरेको छ । भूमिकास्थान नगरपालिका पहुँचमार्गको सन्दर्भमा बजेट अपुग भएको कारण १०.७४ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको र सो रकम कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट प्रमाणित भइसकेको कार्यालयका लेखा अधिकृत बाबुराम खनालले जानकारी दिए ।

बहुवर्षीय आयोजना र आगामी योजना

हाल जिल्लामा ‘रामपुर–कपुरकोट सडक’(जीवराज आश्रित–कृष्णसेन इच्छुक मार्ग) सहित ११ वटा सडक तथा पुल आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । तीमध्ये ९ आयोजना बहुवर्षीय हुन् । कार्यालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा तीमध्ये ८ आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा स्रोत सहमति प्राप्त ९ वटा नयाँ सडक, सडकपुल तथा झोलुङ्गे पुल आयोजनाका लागि बोलपत्र आह्वान भइसकेको छ।  तर बजेट दोहोरो पर्नु, कार्यक्षेत्र बाहिरको हुनु तथा अन्य निकायबाट मर्मत भइसकेको कारणले २२ आयोजना कार्यान्वयन हुन सकेनन् । 

कार्यालयले प्राविधिक कर्मचारी र १० जना साइट सुपरभाइजरको निरन्तर खटाइ, निर्माण व्यवसायीहरूको प्रतिबद्धता तथा स्थानीय तह, जिल्ला समन्वय समिति र सरोकारवालाहरूको सहयोगबाट प्राप्त सफलताको श्रेय सबैलाई दिएको छ ।

कार्यालय प्रमुख पुनले विकासप्रति निरन्तर चासो, सल्लाह र निर्देशन दिने भौतिक पूर्वाधार विकास मन्त्री तथा जिल्लाबाट निर्वाचित मुख्यमन्त्रीप्रति विशेष आभार प्रकट गरेका छन् । कार्यालयले आगामी वर्षका कार्यक्रमहरू सफल बनाउन पनि सबै पक्षको निरन्तर सहयोग र समन्वयको अपेक्षा राखेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर