लिस्वन, पाेर्चुगल : गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पाेर्चुगलका नवनिर्वाचित अध्यक्ष दिपा काफ्लेकाे शपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । शनिवार लिस्वनस्थित लभ लिस्वन रेष्टुरेन्टमा भएकाे कार्यक्रममा अध्यक्ष काफ्लेसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयाेजक गम्भिरजंग गुरूङले शपथ ग्रहण गराएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सचिव तिलक गैरेले संस्थापक अध्यक्ष, सबै पूर्व अध्यक्षहरू र समाज एकै ठाँउमा बसेर बनाएकाे कार्यसमिति अत्यन्तै प्रतिनिधिमुलक बनेकाे बताए । 'सक्रिय युवाहरू र सबै क्षेत्रकाे प्रतिनिधित्व हुने गरि बनाइएकाे याे कार्यसमितिले पाेर्चुगलमा रहेका हरेक नेपालीहरूकाे समस्या समाधान गर्ने सक्ने देखिन्छ,' उनले भने ।
एनआरएन, पाेर्चुगलकाे नयाँ कार्यसमिति चयनका लागि गत जुलाई १९ तारिखमा भएकाे १० ओं राष्ट्रिय एकता महाधिवेशनमा अध्यक्ष र काेषाध्यक्ष पदका लागि निर्वाचन भएकाे थियाे । अध्यक्षका लागि काफ्ले र सुजन लामा माेक्तान तथा काेषाध्यक्ष पदका लागि अशाेक जाेशी र सविन पाैडेल भिडेका थिए ।
अनलाइन सिस्टमबाट गरिएकाे भाेटिङमा अध्यक्ष पदमा काफ्लेले ६५० र माेक्तानले २२४ भाेट पाएका थिए भने काेषाध्यक्ष पदमा जाेशीले ५२६ र पाैडेलले ३४८ भाेट पाएकाे निर्वाचन समितिले जनाएकाे छ । अन्य अधिकांश पदमा निर्विरोध निर्वाचित भएका छन् ।
मत परिणाम सार्वजनिक भएपछि अध्यक्षका प्रतिश्पर्धी माेक्तान चुनावी परिणाममा असन्तुष्टि व्यक्त गरेका थिए । उनले अनलाइन सिष्टम कब्जा गरि आफुलाई हराएकाे आराेप लगाउदै एकतर्फि रूपमा आफुलाई नै अध्यक्ष घाेषणा गरेका थिए । उनले चुनावी प्रक्रिया एकपक्षिय र अपारदर्शी भएकाे आराेप लगाउदै सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
'म शीध्र निशक्ष छानविन, पारदर्शी लेखापरिक्षण र निर्वाचन समितिकाे जवाफदेहिताकाे माग गर्दछु,' उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'यदि याे प्रक्रियाकाे सुनिश्चितता गरिएन भने याे विवादले अन्तर्राष्ट्रिय तहसम्म असर पुग्ने निश्चित देखिन्छ ।'
तर मतदान नसकिदै नतिजा हेर्न मिल्ने व्यवस्था प्राविधिक पक्ष मात्रै भएकाले विवाद गर्न नहुनेमा सबै एकमत भएका थिए । निर्वाचन समितिले भोटिङको अन्तिम समय अपराह्न ५ बजे निर्धारण गरेको थियो । उक्त समयपछि भोटिङ पोर्टलमा नतिजा निर्वाचन आयोगले मात्र हेर्न मिल्ने व्यवस्था गर्नुपर्ने थियो ।
तर पोर्टलमा भोटिङको समय सकिएपछि भोटरले पनि हेर्न मिल्ने व्यवस्था गरिएको थियो ।
अध्यक्ष काफ्ले र माेक्तान दुबैकाे पदाधिकारी र सदस्य पदमा एउटै व्यक्तिहरू नै रहेका छन् । आइसीसी सदस्यहरूमा राजकुमार गुरूङ, विनाेद बुढाथाेकी र सरिता शर्मालाई निर्विराेध चयन गरिएकाे थियाे भने महासचिवमा गाेविन्द बुढाथाेकीले बाजि मारे ।
उपाध्यक्षहरूमा प्रेपबहादुर वुढाप्रीती, गणेश गुरूङ, शिवराज राई, नृप्रेश गिरी, सुदन निउरे, विष्णुबहादुर घर्ती र सरस्वति तिमिल्सिना खनाल निर्विराेध भएका थिए भने महिला उपाध्यक्षमा पेमा डाेमा शेर्पालाई चयन गरिएकाे थियाे ।
त्यस्तै सचिवमा सुरज भण्डारी, पुष्करराज जाेशी र सुवास पाैडेल छानिएका छन् । सह काेषाध्यक्षमा प्रभा अधिकारी, महिला संयाेजकमा खगिसरा न्याैपाने, युवा संयाेजकमा पेम्वा शेर्पा, लेखा संयाेजकमा सुरेश गिरी निर्विराेध भए ।
१६ जना सदस्यमा १० जनाकाे मात्र उम्मेदवारी परेकाे थियाे । मनाेनयन दर्ता गराउने ज्ञानेन्द्र आचार्य, सुनिलकुमार तिमिल्सिना, भवानीशंकर कंडेल, हरि देवकाेटा, दिपक भण्डारी, नरिश्वर न्याैपाने, कविता गेलाल, दिपेश पाैडेल, विनाेद केसी र सुवास आचार्य सबै जना निर्विराेध निर्वाचित भएका छन् ।
अर्काे तर्फ निर्वतमान अध्यक्ष उमेश खड्का नेतृत्वकाे समुहले आफ्नै तरिकाले छुट्टै कार्यसमिति बनाएकाे छ । पन्जिकृत सदस्यहरूकाे मतदाता नामावलि नै छुट्टै प्रकाशित गरेर सर्वसम्मत रूपमा निर्वाचित भन्दै बमबहादुर जिसीकाे अध्यक्षतामा कार्यसमिति सार्वजनिक गरेकाे हाे । पेम्छिरी शेर्पालाई निर्वाचन समितिकाे संयाेजक बनाई खड्का समुहले नयाँ कार्यसमिति सार्वजनिक गरेकाे हाे ।