गण्डकी : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् ।
आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री डा राणाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राखिन् । पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिइन् ।
यहाँ पनि अनावृष्टि र अतिवृष्टिको त्रास बढ्दै गइरहेको बताउँदै मन्त्री डा राणाले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नेगरी सहकार्य र समन्वयमार्फत दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइन् । जैविक विविधताको संरक्षणका लागि नेपालले महत्त्वपूर्ण योगदान गरिरहेको बताउँदै उनले पोखरामा सञ्चालित बगैँचा रिसोर्टले यस विषयलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरिन् ।
“रिसोर्टमार्फ स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देशसमेत दिन खोजिएको छ । विदेशमा गरिने मेहनतले केवल पैसामात्र आर्जन हुने भए पनि यहाँ गरिने मेहनेतले स्वदेशमा योगदानसँगै इज्जत पनि प्राप्त हुन्छ”, मन्त्री डा राणाले भनिन् ।