काठमाडौं : नेपालमा मनसुन सुरु भएको करिब डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् । जनधनको क्षति पनि ठुलो भएको छ । तर देशभरका कुनैपनि ठुला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउँछन् ।
यस वर्ष सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । तर अहिलेसम्म पनि देशका ठुला नदीहरुमा बाढीले खतराको तह पार गर्न सकेको छैन । आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरुमा खतराको तह भन्दा बढी बाढी नजाने उनको भनाइ छ ।
साना नदीहरुमा ठुलो पानी पर्दा ठुलो बाढी आउनसक्ने उनले बताए । आज पनि गण्डकी, कर्णाली र बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान रहेको उनले बताए ।
उनले पछिल्लो डेढ महिना मधेश प्रदेशमा सरदरमा करिब ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताए । हालका दिनहरुमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने उनले बताए ।
जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ । उनले रसुवाको भोटेकोशीमा मंगलवार राति आएको बाढी सामान्य रहेको बताए । उनले बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठुलो देखिएको र केही नोक्सान गर्ने भएकाले पनि नदी छेउमा सतर्कता अपनाउन आग्रह गरे ।