२०८२ साउन १४ गते बुधवार / Jul 30 , 2025 , Wednesday
२०८२ साउन १४ गते बुधवार
Ads

विद्यालय नतिजा सुधार अभियानमा प्युठान नगरपालिका

shivam cement
राजेश जीसी
२०८२ साउन १३ गते २२:२९
विद्यालय नतिजा सुधार अभियानमा प्युठान नगरपालिका

प्युठान : प्युठान नगरपालिकाले विद्यार्थीको शैक्षिक नतिजा सुधार गर्ने उद्देश्यसहित ‘विद्यालय नतिजा सुधार अभियान’ सञ्चालन गरेको छ । 

अभियानको सुरुवातमा नगरपालिकाले चार दिनसम्म विभिन्न विद्यालयका विषयगत शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग चार चरणमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

नगरपालिकाले कक्षा ५ र ८ मा ७५ प्रतिशतभन्दा कम र कक्षा १० मा ९० प्रतिशतभन्दा कम नतिजा ल्याउने विषय तथा शिक्षकहरूलाई पहिचान गर्दै १३१ शिक्षकहरूसँग दुई चरणमा छलफल गरेको हो । त्यसैगरी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग पनि दुई चरणमा विस्तृत अन्तरक्रिया गरिएको छ ।

छलफलका क्रममा कमजोर नतिजाको कारण पत्ता लगाउँदै सुधारका लागि शिक्षक तथा विद्यालय प्रशासनसँग लिखित प्रतिबद्धता समेत लिइएको छ । नगर शिक्षा शाखाले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय र नगरपालिकाबीचको साझा भूमिकाका आधारमा कार्ययोजना तयार पारेको जानकारी दिएको छ ।

नगर उपप्रमुख देवेन्द्र वर्माका अनुसार, चालु शैक्षिक सत्रदेखि उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक तथा विद्यालयलाई पुरस्कार दिइने र कमजोर प्रदर्शन गर्नेहरूलाई सचेत गराइने नीति अवलम्बन गरिएको छ । उनले पुरस्कार तथा चेतावनी प्रणालीलाई अझ प्रभावकारी बनाउन सुझावहरू पनि संकलन गरिएको बताए ।

गत वर्ष नगरपालिकाले कक्षा ८ र १० का लागि अतिरिक्त कक्षा सञ्चालन गर्न १७ लाख रुपैयाँ विनियोजन गरेको थियो। नगरप्रमुख विष्णु बहादुर योगीका अनुसार, चालु सत्रमा कक्षा ५ लाई पनि अतिरिक्त कक्षाको दायरामा ल्याउने तयारी भइरहेको छ ।

‘जग बलियो नभइ शिक्षाको गुणस्तर राम्रो हुँदैन, त्यसैले हामीले शिक्षा सुधारका लागि अभियान सञ्चालन गरेका हौं,’प्रमुख योगीले बताए ।

गत शैक्षिक सत्रमा एसईई परीक्षामा ६८.४४ प्रतिशत नतिजा ल्याएर जिल्लामै उत्कृष्ट प्रदर्शन गरेको प्युठान नगरपालिकाले यस वर्ष कक्षा ५, ८ र १० मा अझ राम्रो नतिजा ल्याउने लक्ष्य लिएको छ । ‘निरन्तर अनुगमन, सुपरिवेक्षण र पृष्ठपोषणमार्फत विद्यालयको नतिजा उत्कृष्ट बनाउने हाम्रो उद्देश्य हो,’ नगर शिक्षा शाखा प्रमुख बासुदेव पण्डितले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकहरूले पनि यस अभियानमा सहकार्य गर्दै उत्कृष्ट नतिजाका लागि प्रतिबद्धता जनाएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise