वीरगञ्ज : नेपाली समाज मलेसियाका अध्यक्ष विनोद कुमार यादवलाई जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो विधानअनुसार प्रवास विशेष प्रदेश समितिको सदस्य पदमा मनोनयन गरेको छ । विगत लामो समयदेखि मलेसियामा रहेर नेपाली समुदायको हकहित, पहिचान संरक्षण र सामाजिक एकता निर्माणमा क्रियाशील रहँदै आएका यादवले प्रवासी नेपालीका अनेकन समस्याहरू समाधानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
मलेसियामा रहेका नेपालीहरूले कुनै समस्या भोग्दा यादवले स्वयम् उपस्थित भएर समाधान गर्ने काम गर्दै आएका छन् । समर्पित अभियन्ताका रूपमा चिनिएका यादवको कार्यसम्पादनप्रति कदर गर्दै जसपाले उनलाई यो जिम्मेवारी दिएको हो ।
मनोनयनको जानकारी पाएपछि प्रतिक्रिया दिँदै यादवले भने, ‘पार्टीले देखाएको विश्वासप्रति आभारी छु । अब यो जिम्मेवारी कागजमा होइन, काममा देखिनेछ । म प्रवासी नेपालीको आवाज बनेर अझ सशक्त रूपमा उभिनेछु ।’ उक्त मनोनयनलाई मलेसियास्थित नेपाली समुदायले गर्व र उत्साहका साथ स्वागत गरेका छन् ।