२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नेपाल पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक हो : परराष्ट्र मन्त्री डा राणा

Nada
२०८१ असार ३१ गते १८:०१
Shares
नेपाल पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक हो : परराष्ट्र मन्त्री डा राणा

काठमाडौँ, ३१ असारः नव नियुक्त पररष्ट्र मन्त्री डा आरजु राणाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताएकी छन् ।  

ncell

आज मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल भूपरिवेष्ठित र दुई ठूला छिमेकी मुलुकबीचमा रहेको उल्लेख गर्दै सबैसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन्  । 

उनले भनिन्, “पूर्वजहरुको योगदानका कारण मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता इतिहासदेखि नै सुरक्षित रहेको छ, यसलाई अक्षुण्ण राख्नुपर्ने हामी सबैको दायित्व हो ।”

मुलुकको समृद्धिका लागि पनि परराष्ट्र मन्त्रालयको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले  आर्थिक कूटनीतिमार्फत त्यसमा कसरी योगदान गर्ने भन्ने बारेमा काम गर्ने बताइन् । नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धता गरेको तथा त्यसको कार्यान्वयनबाट आर्थिक कूटनीतिलाई अघि बढाउन योगदान गर्न सकिनेमा उनले जोड दिइन् ।

नेपाल बाहिर बस्ने नेपालीका लागि धेरै काम गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री डा राणाले भनिन्, “विदेशमा बस्ने नेपालीका लागि अझ राम्रो सेवा कसरी गर्ने भनेर थप काम गर्नेछौँ ।” उनले सुशासन कायम गर्न, नीतिको प्रभावकारी कार्यान्वयन गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइन् । 

मन्त्री डा राणाले रुसी सेनामा भर्ना हुन गएका र अप्ठ्यारोमा परेका नेपाली युवाको उद्धार तथा इजरायलमा हमासको आक्रमणको क्रममा वेपत्ता भएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारबाट यसअघि पनि पहल भएको र आफ्नो कार्यकालमा पनि थप पहल गर्ने बताइन् ।

उनले पदबहालीका क्रममा विभिन्न मुलुकका राष्ट्रिय दिवस तथा नेपालसँगका सम्बन्धबारे पठाउनुपर्ने सन्देशलाई व्यवस्थापन गर्नेसम्बन्धी मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गरिन् ।

ताजा खबर

सम्बन्धित खबर