२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

प्रादेशिक रक्त सञ्चार केन्द्रद्वारा नयाँ भवनबाट सेवा प्रारम्भ

shivam cement
पवन जायसवाल
२०८२ साउन १२ गते २१:१३
Shares
प्रादेशिक रक्त सञ्चार केन्द्रद्वारा नयाँ भवनबाट सेवा प्रारम्भ

नेपालगञ्ज : ६०औं नेपाल रक्त सञ्चार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रले नयाँ भवनबाट सेवा सुरु गरेको छ ।

नेपालगञ्जस्थित भेरी अस्पताल परिसरभित्र निर्माण गरिएको उक्त भवन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा निर्माण गरिएको हो ।  सोमबार आयोजित विशेष कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री तथा प्रमुख अतिथि मीनबहादुर मल्लले भवनको उद्घाटन गर्दै औपचारिक रूपमा सेवा प्रारम्भ भएको घोषणा गरे । 

महामन्त्री मल्लले रक्त सञ्चार सेवा मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण सेवा भएको उल्लेख गर्दै रेडक्रसले गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले भवन निर्माणमा योगदान दिने पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईप्रति धन्यवाद व्यक्त गरे । साथै, नियमित रूपमा रक्तदान गर्ने स्वयंसेवी तथा संस्थागत रक्तदाताप्रति पनि आभार प्रकट गरे । 

प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा केन्द्रले १६,१५१ युनिट रगत संकलन तथा २३,१९६ पिन्ट रगत वितरण गरेको छ । सेवा अन्तर्गत डाक्टरको सिफारिसमा पिआरपी, एफएफपी,  प्याकसेल, होल ब्लड, फ्रेश ब्लड लगायतका सेवा उपलब्ध गराइन्छ ।

रक्त सञ्चार दिवसकै अवसरमा दैलेखी सेवा समाजको सहकार्यमा एक रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ६५ जना (महिला र पुरुष) सहभागी भइ रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा आयोजित उक्त कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षता, महामन्त्री मीनबहादुर मल्ल, मन्त्री अजीज अहमद सिद्दीकी, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, शाखा सभापति गोवर्धन सिंह सम्झना लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेरेसोका लेखा अधिकृत झवीलाल शर्माले सञ्चालन र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले जानकारी प्रस्तुत गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर