२०८२ साउन १२ गते सोमवार / Jul 28 , 2025 , Monday
२०८२ साउन १२ गते सोमवार
Ads

‘अभिमन्यु : च्याप्टर १’का पोस्टरमा खुसी र तनाव

shivam cement
मध्यान्ह
२०८२ साउन १२ गते १३:०२
‘अभिमन्यु : च्याप्टर १’का पोस्टरमा खुसी र तनाव

काठमाडौं : सामाजिक सन्देशसहितको कथामा निर्माण भइरहेको बहुप्रतीक्षित चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले आफ्नो औपचारिक पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले एकैदिन चलचित्रका दुई फरक स्वादका पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ उत्सुकता थपेको हो ।

सार्वजनिक पोस्टरले चलचित्रका पात्रहरू र उनीहरूबीचको सम्बन्धबारे केही झलक दिन खोजेको देखिन्छ । एउटा पोस्टरमा चलचित्रका मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठ फिचर छन् । यीमध्ये किरण श्रेष्ठबाहेक सबैको अनुहारमा तनाव र रहस्य मिश्रित भाव देखिन्छ, जुन सम्भवत: कथाको जटिलतासँग जोडिएको संकेत हो ।

यसै पोस्टरमा एक पात्रलाई प्रहरीले हतकडी लगाएर बयान लिइरहेको देखिन्छ भने अर्का प्रहरी जवान सुरक्षा निगरानीमा उभिएका छन् । दृश्यले कथाको गम्भीर मोडतर्फ इसारा गर्छ, जसले दर्शकको जिज्ञासा बढाउन सक्छ ।

दोस्रो पोस्टरमा भने कामेश्वर चौरासिया र लक्ष्मी बर्देबा कुनै मन्दिरको परिवेशमा आरती सल्काउँदै खुसी मुद्रामा देखिन्छन् । लक्ष्मीको पहिरन र दुबैको हाउभाउले उनीहरू नवविवाहित जोडीजस्तो देखिन्छन्, जसले फिल्मको कथामा प्रेम र पारिवारिक पाटो पनि समेटिएको संकेत दिन्छ ।

यसअघि सार्वजनिक गरिएको मोसन टिजरले पैसाका लागि हुने संघर्ष र त्यसबाट उत्पन्न हुने द्वन्द्वको झलक दिएको थियो । अहिले सार्वजनिक पोस्टरहरूले त्यो विषयवस्तुलाई थप बलियो बनाउँदै तनाव, रहस्य र सम्बन्धको त्रिकोणीय चित्रण गरेका छन् ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही भदौ २७ गतेबाट नेपाली भाषामा प्रदर्शनमा आउनेछ । हिन्दी संस्करण भने असोज ६ गते (सेप्टेम्बर २२) देखि वल्र्डवाइड रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रले पैसाको मोहमा चक्रव्यूहमा फसेका पात्र र उनीहरू त्यसबाट उम्कन गर्ने संघर्षको कथा भन्ने निर्देशकको दाबी छ । फिल्मले समाजमा विद्यमान आर्थिक प्रलोभन र त्यसले निम्त्याउने व्यक्तिगत द्वन्द्व र नीतिगत टकरावलाई उठान गर्ने प्रयास गरेको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनका लागि डेब्यु निर्देशन हो । लेखनमा मुकेश खनाल छन् भने क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन् ।

चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।

निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माताका रूपमा जोडिएका छन् । कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

भिएफएक्स मनोज श्रेष्ठले सम्हालेका छन् भने रंग संयोजन सुप्रिम पराजुलीले गरेका छन् । सम्पादनमा मदन घिमिरे र छायांकन (डिओपी) मा शरद महतो रहेका छन् । लाइन प्रोड्युसरको भूमिकामा जीवन शाक्य छन् ।

पोस्टर, टिजर र सार्वजनिक विवरणले दर्शकमा चलचित्रप्रति चासो बढाएको देखिन्छ । अब रिलिजको मिति नजिकिँदै गर्दा ‘अभिमन्यु : च्याप्टर–१’ ले कथाको गहिराइ, सस्पेन्स र सामाजिक यथार्थ प्रस्तुत गर्न कति सफल हुन्छ भन्ने प्रतीक्षा दर्शकहरूलाई रहनेछ ।

ADV

सम्बन्धित खबर

Advertise