क्वालालम्पुर : गैरआवासीय नेपाली संघ(एनआरएनए) मलेसियाको नवौं अधिवेशन क्वालालम्पुरमा सम्पन्न भएको छ । अधिवेशनबाट राकेश प्रसाद महतो अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
समारोहमा प्रमुख अतिथि संघका पूर्वअध्यक्ष हरि भट्टराई र विशेष अतिथिको रूपमा संस्थापक अध्यक्ष शंकरबहादुर पौडेल सहभागी थिए । कार्यक्रमको विशेष आकर्षणको रूपमा नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटीको सांगीतिक प्रस्तुति रहेको थियो । त्यस्तै, स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
विगत केही समयदेखि आन्तरिक विवादमा रहेको संघको अधिवेशन असहमति र अवरोधकाबीच सम्पन्न भएको हो । असन्तुष्ट पक्षका पूर्वअध्यक्ष विनोद थाहा, निवर्तमान उपाध्यक्ष इन्द्रनारायण लिम्बु लगायतका केही पदाधिकारी तथा नेपाली दूतावास मलेसियाका प्रतिनिधिहरू भने कार्यक्रममा अनुपस्थित रहेका थिए ।
प्रमुख अतिथि भट्टराईले अधिवेशन पूर्णतः विधानसम्मत रूपमा सम्पन्न भएको र केही व्यक्तिको असहमति संघको लोकतान्त्रिक प्रक्रियामा बाधा नबनेको स्पष्ट पारे ।
नव–निर्वाचित अध्यक्ष महतोको नेतृत्वमा आगामी दुई वर्ष (२०२५–२०२७) का लागि २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
संघको प्रथम उपाध्यक्षमा राजु तामाङ, नारायण अधिकारी, विनोद पाण्डे, अनिल कुमार चौधरी, महिला उपाध्यक्षमा लिला मगर, युवा उपाध्यक्षमा सन्तोष पौडेल र महासचिवमा विष्णु प्रसाद बराल चयन भएका छन् ।
सचिवमा उमेश कोइरी महतो, रमेश पौडेल,कोषाध्यक्षमा खेमराज खत्री, सह–कोषाध्यक्षमा सुरेश कुमार देवकोटा, युवा संयोजक राजन हायु राई र महिला संयोजकमा शोभा कुमारी खड्का चयन भएका छन् ।
यस्तै सदस्यहरूमा हरि बहादुर बस्नेत, कैलाश बिस्ट, रुपेश बी.के, बाबुराम थापा मगर, टिपेन्द्र बुढा मगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्र बहादुर थापा र दीपक प्रसाद यादव चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष महतोले नयाँ कार्यसमितिको नेतृत्व गर्दै प्रवासी नेपालीहरूको हकहित, एकता र समृद्धिको पक्षमा सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।