२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते १३:२१
समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ

काठमाडौं : संसदीय समितिमा मन्त्री उपस्थित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ ।

आइतबार सिंहदरबारमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बोलाइएको थियो । बैठकमा सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

तर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह बैठकमा सहभागी नहुने सूचना आएसँगै सांसदहरुले बैठक नबस्न आग्रह गरे । समिति सदस्यहरुको आग्रहसँगै समिति सभापति ठाकुर गैरेले समितिको बैठक स्थगित गरे ।

समितिको बैठकमा बोल्दै सभापति गैरेले संसद भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिन भित्र लिखित जवाफ पठाउन समितिले निर्देशन दिएपनि मन्त्रालयले अटेर गरेको बताए । समितिले दिएका निर्देशनमा मन्त्रालय जवाफदेही नबनेको उनले बताए ।

उनले भने, ‘संसद् भवन निर्माण प्रगति र तीन महिना म्याद थपबारे तीन दिनभित्र लिखित जवाफ पठाउनुस् भनेर निर्देशन दिएका थियौं । त्यो पत्र प्राप्त गर्न धेरै ठूलो समय लाग्यो । सभामुखज्यूको कार्यकक्षमा नोकझोक टाइपको छलफलपछि बल्ल पत्र प्राप्त भयो । समितिप्रति र समितिले पठाएको पत्रको जवाफ पठाउने कुरामा पनि यस्तो भइरहेको छ । समितिले गरेको निर्देशनमा मन्त्रालय जवाफदेही बनोस् ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले किन म्याद थपियो भन्नेबारेमा मन्त्रालयले स्पष्ट जवाफ दिनुपर्ने बताए । मन्त्री नै उपस्थित नभएपछि बैठक स्थगित गर्नुपर्ने उनले बताए । मिनी संसदले सरकारलाई असहज पार्ने नभइ बल पुगोस् भन्ने ध्येय रहेको बताउँदै उनले मन्त्रालयले समिति केही पनि होइन भन्ने सोच्न नहुने बताए । 

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले मन्त्री समितिले बोलाउँदा बैठकमा उपस्थित हुनैपर्ने बताए । उनले समितिले दिएको पत्रको जवाफ नपठाउने, मन्त्री बोलाएको बेलामा नआउने भएन समिति खारेज गर्न माग गरे । 

समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदीय बैठकहरु सरकारको प्रतिनिधि नभइ चल्न नसक्ने धारणा राखे । उनले मन्त्रीहरुलाई जे गरेपनि सरक्क छोडिदिने परिपाटी राम्रो नहुने बताए ।

उनले सरकारले समय तोकेरै काम सक्ने भनेर अघि बढिसकेपछि के कारणले काम सकिएन भन्ने जवाफ दिनुपर्ने बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise