२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच

shivam cement
२०८२ साउन ११ गते ०९:१७
Shares
निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी : मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो ।

रु ९४ लाखको लागतमा निर्माण भएको योजनाबाट निस्कोटका एक सय २५ घरपरिवार लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिए । उपभोक्ताको घरघरका साथै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिकस्थलमा थप सातवटा धारा जडान भएको छ ।  

टोटो बजाउनेमा रहेको मुहानबाट १६ किलोमिटर मुख्य र शाखा पाइप लाइन बनाएर १३ वटा ट्याङ्की, दुईवटा डिपिटीलगायतका संरचना बनाएर खानेपानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताए। ‘‘३७ वर्षअघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट पालो कुरेर पानी वितरण गर्नुपर्ने समस्या थियो”, उनले भने, “धारा र कुवाबाट पानी ओसार्न हुने समयको बचत र झञ्झट हटेको छ ।” 

पुरानो आयोजनाका संरचना जीर्ण हुँदा खानेपानी आपूर्ति नियमित नहुने र पानी वितरण अव्यवस्थित थियो । सार्वजनिक धारामा पानी नआउँदा उपभोक्ताले कुवा र खोल्साबाट गाग्री, ग्यालिन, ड्रम र बोत्तलमा पानी सोसार्ने गर्दथे । खानेपानीका धारासँगै भाँडा सुकाउने चाङ निर्माण भएको छ । पानीको मितव्ययी र व्यवस्थित तथा दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरेर शुल्क उठाउने व्यवस्था मिलाइएको छ । खानेपानी योजना निर्माणका लागि प्रतिघर ९० दिनका दरले श्रमदान गरेका छन् । घरघरमा सफा र स्वच्छ खानेपानी आउन थालेपछि श्रमदानको दुःख भुलाएको उपभोक्ता तमबहादुर पुनले बताए । 

नेवा संस्थाका प्राविधिक छमीराम शर्माका अनुसार नेवाको रु ६४ लाख र उपभोक्ताको रु ३० लाख बराबरको श्रमदानमा योजना निर्माण भएको हो । नेवाको सहयोगमा यसअघि गत वर्ष मालिका गाउँपालिका–१ का अन्य टोलमा निर्माण भएको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर