२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

एनआरएनए एनसीसी कतारको अध्यक्षमा पन्थी सर्वसम्मत चयन

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन १० गते १९:३४
एनआरएनए एनसीसी कतारको अध्यक्षमा पन्थी सर्वसम्मत चयन

दोहा कतार : कतारको नज्मामा रहेको क्राउन प्लाजाको हलमा सयौँ पञ्जीकृत सदस्यहरूको उपस्थितिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको एघारौँ राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पूर्व अर्थ, एवं परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रमेश भट्टको सभाध्यक्षतामा महाधिवेशन सम्पन्न भएको हो । 
महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतले कतारमा एनसीसी विभाजन हुनुपर्ने कारण केही नरहेको बताउँदै हामी कतारमा एक छौं भन्ने उदाहरण दिन नसके पनि ढिलो चाँडो यही एनसीसीमार्फत जोडिने विश्वास व्यक्त गरे । 

एनआरएनएको एकताका लागि गठन गरिएको समिति मातहत रहेर बद्री केसी निर्वाचनमा सहभागी नहँुदा आइसीसी र एनसीसीमा समस्या सिर्जना भएको बताए । महतले नेपाली राजदूतावास नेपाल सरकारको प्रतिनिधित्व गर्ने संस्था भएको हुँदा आधिकारिक एनसीसीले गरेको महाधिवेशनमा सहभागी नभएको देख्दा दुःख मनाउ गर्दै साझा बन्न आग्रह गरे ।उनले नेपालमा केही अस्थिरताले गर्दा सोचेझैँ विकास हुन नसकेको स्वीकार्दै नेपालको विकास हुने कुरामा आफू ढुक्क रहेको बताए । 

विकसित राष्ट्रले रोजगारीका अवसर गुमाउँदै गएपनि नेपालमा रोजगारीको अवसर प्रशस्त रहेको बताए । नेपालले आइटीको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै नेपालका इन्जिनियरहरुले हजारौँ सफ्टवरहरु विकसित राष्ट्रमा बिक्री गरेको जिकिर गरे । 

महतले नेपालमा निजी क्षेत्रले पनि ऋण पाए लिइ हाल्ने र नतिर्ने, सरकारले पनि बजेट जथाभावी वितरण गर्ने गरेको उनको धारणा थियो ।महाधिवेशनमा आइसीसीका विभिन्न तह र तप्काका उच्च पदाधिकारीहरू, एनसीसी कतारका भूतपूर्व अध्यक्ष तथा पदाधिकारीहरूसहित कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यतासहित शुभकामना मन्तव्य रहेको थियो । 

वक्ताहरूले कतारमा रहेको एनआरएनएमा देखिएको फुटप्रति आफ्ना विचारहरू राख्दै आइसीसीको मुद्दाका नाममा सामाजिक संस्थामा राजनीति हाबी भएकोप्रति चिन्ता व्यक्त गर्दै कतारको नेपाली समाजमा एकता कायम गर्न मिल्नुको विकल्प नरहेको सबैले बुझ्न आवश्यक रहेको बताए । कतारका लागि नेपाली राजदूत सबै नेपालीको साझा अभिभावक बन्न नसकेको जिकिर गर्दै राजनीतिक दलको कार्यकर्ता नबन्न वक्ताहरूले आग्रह गरे ।

सम्मान तथा पुरस्कार वितरण

महाधिवेशनबाट संघको कार्यकाल २०१७–०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कार समेत वितरण गरिएको छ । २०२३–०२५ को ‘साहित्य पुरस्कार’ श्यामराज रानाभाट, ‘पत्रकारिता पुरस्कार’राम एकवाल राम र ‘स्वास्थ्य तथा खेलकुद’पुरस्कार दिलीप कार्कीलाई जनही  १५ हजार नगदसहित सम्मानित गरिएको थियो । महाधिवेशनमार्फत एनसीसीका विभिन्न विभागमा रहेर कार्यसम्पादन गरेका व्यक्तित्वहरूसहित विधान संशोधन समिति, एकताका लागी पहल गर्ने विभिन्न संघसंस्थाहरू, संघका सल्लाहकारहरूसहित पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

आयव्यय तथा कार्य प्रगति विवरण

संघका कोषाध्यक्ष बुद्ध पाण्डेले एनसीसी कतारमा १ लाख ३१  हजार ८ सय ९५ कतारी रियाल बचत रहेको र १२ हजार ५ सय ७१ रियाल उठ्न बाँकी रहेको आयव्यय विवरण पेस गरेका थिए ।

कार्यकालभरि नेपालको बैंकमा रहेको बचत खाताको ब्याजमार्फत करिब १६ हजार आम्दानी रहेको जानकारी दिए । कार्य प्रगति विवरण महासचिव रविन मगरले पेस गरेका थिए । पेस गरिएका दुबै विवरण अनुमोदन भएका थिए । 

यस्तै एघारौँ महाधिवेशनको बन्द सत्रबाट विजयी भएका एनआरएनए आइसीसी सदस्यहरूमा धनबहादुर बलाएर,  शेख हनिफ साहिल हनिफ खान, ध्रुवराज अधिकारी, टिकाराम डुम्रे र गोपाल डाँगी रहेका छन् । 

एनसीसी कतारको २०२५/०२७ कार्यकालका लागि कृष्ण पन्थीको अध्यक्षतामा प्रथम उपाध्यक्ष रबिन मगर, द्धितीय उपाध्यक्ष सन्तोष पौडेल, तृतीय उपाध्यक्ष जहागिर आलम, महिला उपाध्यक्ष  टौमाया गुरुङ, युवा उपाध्यक्ष मेहर सिंह तामाङ, महासचिव विवेक पुलामी मगर, सचिवहरू बुद्ध पाण्डेय, सुजन गुरुङ र अर्जुन संग्रौैला, कोषाध्यक्ष कविन्द्र कँडेल, सह–कोषाध्यक्ष कान्छा श्रेष्ठ(अजय), महिला संयोजक कल्पना पुन मगर र युवा संयोजक केशव राज मल्ल (केशु) निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरूमा रिता पोखरेल, इन्दिरा शाह, राम चन्द्र गिरी, अमृत विश्वकर्मा प्रकाश दर्नाल, दर्शन सुनार, गणेश अधिकारी, राजन चापागाईँ, तारा टमाटा (कमल), डिल्ली राम भट्टराई, मोहम्मद रफिक रायन, विश्वनाथ भट्टराई, गोरख बहादुर चन्द ठकुरी , मो.अनवारुल हक, शेख मोमताज, प्रकाश थापा, सुशील कुमार सुब्बा, कृष्ण भण्डारी, पुष्कर बहादुर साउद रहेका छन् ।
राम प्रसाद गौतमको संयोजकत्वमा कमल खत्री र अशोक आले मगर रहेको लेखा समिति समेत निर्विरोध चयन भएका छन् । 

महाधिवेशनबाट टक कुमार खड्का (कुमार)को संयोजकत्वमा कल्याण थापा र अर्जुन खड्का सदस्य रहने गरी अनुशासन समिति गठनसहित अनुमोदन समेत भएको छ ।
नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक नरेन्द्र भाटले पद तथा गोपनियिताको शपथ ग्रहण गराएका थिए । 

एनसीसीका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको महाधिवेशनलाई महासचिव मगर र सचिव सन्तोष क्षेत्रीले सहजीकरण गरेका थिए । महाधिवेशनमा नेपालबाट आमन्त्रित अतिथि कलाकार बाबुराम पन्थीले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए ।

महाधिवेशनको खुल्ला सत्रमा वक्ताहरूले कतारमा मृत्युवरण गरेका नेपालीले प्राप्त गर्ने रकममा दूतावासले २०प्रतिशत कर लगाउने गरेको बताएका थिए । यस्त विषयलाई स्पष्ट पार्दै भट्टले नेपाल सरकारले वकिलको व्यवस्था नगरेको हुँदा उक्त रकम वकिलको शुल्कका लागि काटिने गरेको स्पष्ट पारे । 

भट्टले आफ्नो कार्यकालमा कतारमा रहेका संघसस्थाले दिएको साथप्रति आभार व्यक्त गर्दै केही व्यक्ति संस्थाबाट अलग भएर गएपनि छिट्टै यहि समितिमा फर्कने विश्वास व्यक्त गरे । 
 

ADV

सम्बन्धित खबर

Advertise