२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

shivam cement
मध्यान्ह
२०८२ साउन १० गते १४:५२
साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

कैलाली : गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन् । 

आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ५३ हजार चार सय ६८ जना आन्तरिक पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका हुन् । टीकापुर नगरपालिकाको मातहतमा रहेको टीकापुर पार्कबाट नगरपालिकाले गत आवमा रु ९३ लाख ४४ हजार चार सय १०  राजस्व संकलन भएको छ । आव २०८०/८१ मा नगरपालिकाले पार्कबाट रु ६३ लाख ९७ हजार एक सय ७५ राजस्व संकलन गरेको थियो ।

टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द केसीले दिएको जानकारीअनुसार गतवर्ष दुई लाख १८ हजार दुई सय ८ जना स्वदेशी पर्यटकले पार्कको अवलोकन गरेका थिए । जसबाट रु ६५ लाख ४६ हजार दुई सय ४० राजस्व संकलन भएको छ भने ३५ हजार दुई सय ६० जना विद्यार्थी तथा जेष्ठ नागरिकहरूले पार्क अवलोकन गरेका छन् । उनीहरूबाट  नगरपालिकाले पाँच लाख ५८ हजार नौ सय राजस्व सङ्कलन भएको देखिन्छ । 

त्यतिमात्र नभई पार्क अवलोकनमा आउने पर्यटकहरूको सवारीसाधन पार्किङबाट मात्रै रु आठ लाख ३७ हजार एक सय राजस्व उठेको नगरपालिकाका राजस्व शाखा प्रमुख केसी बताउनुहुन्छ । त्यसैगरी पिकनिक स्पट, फोटोग्राफी, क्यामरालगायत विविधबाट रु १४ लाख ३२ हजार एक सय ७० संकलन भएको छ ।

पार्कमा रहेको वीरेन्द्र विश्राम घर पर्यटकका लागि खुला गरिएपछि पछिल्लो समय पर्यटकहरूको आवागमन बढ्दै गएको हो । पार्कमा पछिल्लो समय दैनिक करिब पाँच सय पर्यटन अवलोकनका लागि आउने गरेका छन् ।     

पार्कमा व्यावसायिक फोटोग्राफी सञ्चालन भएपछि पनि पर्यटकको संख्या बढेको देखिन्छ । अहिले पार्कभित्र करिब ३५ जना युवाहरू व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका छन् । टीकापुर नगरपालिका–३ का नैनबहादुर चौधरी कुखुरा पालन व्यवसाय छोडेर दुई वर्षदेखि फोटोग्राफरको काम गर्दै आएका छन्। कुखुरा पालनबाट भन्दा राम्रो आम्दानी फोटोग्राफीबाट हुने भएपछि  यतातिर लागेको उनको भनाइ छ । “सुरुवातका दिनमा धेरै राम्रो आम्दानी थियो, दिनमै चार/पाँच हजार रुपैयाँसम्म कमाउन सकिन्थ्यो”, उनी भन्छन्, “आम्दानी राम्रो देखेपछि कुखुरा पालन व्यवसाय छोडेर यता लागेको हुँ, तर अहिले धेरै जना यसैमा जोडिएका कारण त्यस्तो आम्दानी छैन ।”

पार्कभित्र फोटोग्राफीको काम गर्ने अधिकांश युवाहरू अध्ययन सँगसँगै फोटोग्राफरको काम गर्दै आएका छन् । टीकापुर स्थिति खड्ग स्मृति माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका सुनिल चौधरी अहिले पार्कमा फोटोग्राफीको काम गर्दै आएका छन् । उनले फुर्सदको समयलाई सदुपयोग गर्दै दैनिक रु दुईदेखि तीन हजार आम्दानी गर्दै आएको बताए। “सबै दिन एउटै किसिमको हुँदैन । कुनै दिन बढी हुन्छ त कुनै दिन हुँदैन”, उनी भन्छन्, “आफ्नो अध्ययनको खर्च अनि कोठाको खर्च व्यवस्थापनमा कुनै समस्या छैन ।”

नगरपालिकाले चालू आर्थिक वर्षबाट पार्कको प्रवेश शुल्क वृद्धि गरेको छ । यसभन्दा पहिलेप्रति व्यक्ति ३० रुपैयाँ लाग्दै आएको शुल्क बढाएर ५० पुर्‍याइएको छ । त्यसैगरी विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूले यसभन्दा पहिले प्रतिव्यक्ति रु १५ तिर्दै आएकोमा अब रु ३० तिर्नुपर्ने हुन्छ । नगरपालिकाको आर्थिक ऐन २०८२ अनुसार उक्त दर हेरफेर गरिएको नगरप्रमुख रामलाल डगौरा थारुले बताए ।

त्यसैगरी प्रतिदिन रु एक सयमा व्यावसायिक फोटोग्राफीको काम गर्दै आएका व्यवसायीको शुक्ल वृद्धि गरेको छ । अहिले प्रतिदिन फोटोग्राफरले पार्कभित्र फोटो खिचेको दुई सय शुल्क तिर्नुपर्ने भएको छ । “आवश्यकता र औचित्यका आधारमा धेरैपछि पार्कको प्रवेश शुल्क लगायतका करका दरमा हेरफेर गरिएको छ”, नगरप्रमुख थारुले भने, “यसलाई कार्यान्वयन गर्दै पार्कलाई थप व्यवस्थित र रमणीय बनाउँदै लगिने छ ।”  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise