२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

पत्रकारमाथिको आक्रमणप्रति ध्यानाकर्षण

Nada
२०८२ साउन ९ गते २१:१४
Shares
पत्रकारमाथिको आक्रमणप्रति ध्यानाकर्षण

काठमाडौं : रौतहटमा कार्यरत पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिटप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महासंघको एसोसिएट प्रदेश समिति तथा नेपाल पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा भत्र्सना गरेका छन् । 

ncell

बिहीबार मौलापुर नगरपालिका–५, सोनरनियामा विकास निर्माणसम्बन्धी अनुसन्धान गर्न गएका पत्रकार यादवमाथि पूर्वमन्त्रीका छोरा विवेक साह, रञ्जित साह, अञ्जित साह तथा अञ्जित साहका छोराले सामूहिक आक्रमण गरेका थिए । घटनामा यादव घाइते भएका छन् । 

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर ज्यादतीको रूपमा उल्लेख गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । विज्ञप्तिमा पत्रकारको सुरक्षामा राज्यले विशेष चासो दिनुपर्ने समेत औँल्याइएको छ ।

त्यस्तै, नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा घटनालाई लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसमाथिको खुला हमला भन्दै गम्भीर भत्र्सना गरिएको छ । समितिले पत्रकार यादवको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारको उचित व्यवस्थाको माग पनि गरेको छ ।

नेपाल पत्रकार मञ्चले जारी गरेको विज्ञप्तिमा आक्रमण पूर्वनियोजित भएको आशंका व्यक्त गर्दै घटनाको पृष्ठभूमिमा रहेका कारणहरूबारे पनि औँल्याइएको छ । पत्रकार यादवले मौलापुर नगरपालिकामा भइरहेको विकास निर्माणमा देखिएको भ्रष्टाचार, अनियमितता र गुणस्तरहीनताको सम्बन्धमा निरन्तर समाचार सम्प्रेषण गरिरहेका थिए । मञ्चले घटनालाई प्रेस स्वतन्त्रता, विधिको शासन र नागरिक अधिकारप्रतिको खुला चुनौतीको रूपमा व्याख्या गर्दै दोषीहरूलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर