मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेत्र विक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्धित गरेको छ । सरकारको यो निर्णयसँगै नेपाली राजनीतिमा नयाँ बहस सिर्जना भएको छ । सरकारको यो निर्णयको बचाउ र आलोचना दुवै भइरहेका छन् । सरकारको उक्त निर्णयसँगै मुलुकमा कतै नयाँ हिंसात्मक द्वन्द्वको शुरु त हुँदैछैन् भन्ने भय जनस्तरबाट व्यक्त गर्न थालिएका छन् । मुलुक १० वर्षे हिंसात्मक द्वन्द्वको शिकार बनिसकेको छ । दश वर्षको त्यो रक्तपातपूर्ण युद्वमा हजारौं नागरिकले ज्यान गुमाए । हजारौं नागरिक अंगभंग भए । हजारौ नागरिक विस्थापित बन्न पुगे । हिंसात्मक युद्वले पीडा कस्तो हुन्छ भन्ने आम नागरिकले व्यहोरेका छन् । सुराकीको नाममा होस् या सफायाका नाममा, निर्दोष नागरिकले ज्यान गुमाउनु पर्यो ।
भौतिक संरचना ध्वस्त बनाइए । आफ्नै घरमा बस्न नसक्ने परिस्थिति बन्यो । दैनिकजसो सरकार र बिद्रोहीबीचको भिडन्तमा मृत्यु भएका समाचार मात्र सुन्यौं । युद्वका कारण मुलुकको राष्ट्रिय जीवन नै तहसनहस बन्यो । त्यो डरलाग्दो युद्वका अवशेषहरुले आज पनि पीडा दिइरहेका छन् । कतिपय घाइते, अपाङ्ग र बेपत्ता नागरिकले आज पनि न्याय पाउन सकेका छैनन् । अर्थात दश वर्षे युद्वले नमेटिने घाउ दिएर गयो । आज फेरि उही पुरानो राज्यसत्ताको खारेजी र नयाँ सत्ताको स्थापनाको नाराका लागि एउटा राजनैतिक समूह लागिरहने र त्यसलाई दमनद्वारा निस्तेज पार्ने राज्यको अभिष्ट दुवै मुलुकका लागि आत्मघाती कदम हुन् ।
मुलुकले अब थप नयाँ द्वन्द्व थेग्न सक्दैन । क्रान्तिको माग गर्नेहरुले शान्तिपूर्ण जनक्रान्तिको मार्ग अख्तियार गर्नुपर्छ । बम पडकाएर, राज्यका केहि संयन्त्रमाथि हमला गरेर र विच सडकमा ठग र बदमासलाई कारबाही गर्ने नाममा बम विस्फोट गराएर क्रान्ति हुँदैन । क्रान्तिका लागि पहिला जनताको मन आन्दोलित हुनुपर्छ । जनताले अनुमोदन गर्ने कुनै पनि राजनैतिक आन्दोलन असफल भएको इतिहास छैन तर अवपनि ध्वंशात्मक गतिबिधिबाट सत्ता कब्जा गर्छु भन्ने ठान्नु दिवासपना मात्र हो । राज्यले पनि प्रतिवन्धका लागि जुन हतार गरेको छ, यो प्रत्युत्पादक हुने निश्चित छ । वार्ता मार्फत नै हरेक समस्याको समाधान हुन सक्छ । दश वर्षे सशस्त्र युद्व त संवादमार्फत अवतरण भयो भने सशस्त्र युद्वको उद्घोष नगरिसकेको शक्तिसँग संवादमार्फत समाधान निक्लन नसक्ने भने हुदैन । सरकारले दमन भन्दा पनि संवादका लागि सबै विद्रोही राजनैतिक शक्तिलाई आह्वान गरोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies