२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सुर्खेत ट्राफिक प्रहरीद्वारा १ करोड बढी राजस्व संकलन

Nada
पूर्ण सार्की
२०८२ साउन ८ गते १९:३२
Shares
सुर्खेत ट्राफिक प्रहरीद्वारा १ करोड बढी राजस्व संकलन

सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार १ सय ५१ सवारीसाधनलाई कारबाही गर्दै १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

ncell

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ८४२ सवारीसाधन कारबाहीमा परेका थिए । त्यतिबेला १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। चालु वर्ष अघिल्लो वर्षको तुलनामा २९ लाख १५ हजार ५ सय रुपैयाँले राजस्व वृद्धि भएको हो । 

कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा धेरै ६ हजार ७५० वटा मोटरसाइकल छन्, जसबाट ५४ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यसपछि ३ हजार ७२ वटा जिप, कार, भ्यानबाट २३ लाख ४६ हजार ५ सय, २ हजार ८६१ वटा ट्रक–टिपरबाट २७ लाख ६० हजार, २ हजार २५ वटा अटो टेम्पोबाट १९ लाख २४ हजार ५ सय, १ हजार ६१४ वटा बस तथा मिनीबसबाट १४ लाख ४४ हजार ५ सय र ८२९ वटा ट्र्याक्टरबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा ४२३ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३८ जनाले ज्यान गुमाएका छन् ।  मृतकमध्ये २९ जना पुरुष (जसमध्ये १२ जना चालक), ६ महिला, १ बालक र ३ बालिका रहेका छन् । 

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले वीरेन्द्रनगरका विद्यालय, क्याम्पस, चालक, सहचालक र पैदल यात्रीलाई लक्षित गर्दै २ हजार ५३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

साथै, ट्राफिक प्रहरीले राडर गनमार्फत गति नियन्त्रण, मादक पदार्थ सेवन चेकजाँचमा कडाइ, ८८६ वटा रोड फर्निचर तथा जानकारीमूलक बोर्डहरू जडान, २०६ वटा अतिरिक्त सिट हटाउने, ८४ वटा मोडिफाइड सवारी नियन्त्रण जस्ता कार्यहरू पनि अगाडि बढाएको छ ।

प्रविधिमैत्री ट्राफिक प्रशासनका लागि ई–चलान प्रणाली, अनलाइन सचेतना कार्यक्रम, ट्राफिक लाइट जडानजस्ता पहलहरू समेत अघि बढाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर