२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

हवाई सेवा प्राधिकरण विधेयक : सांसदद्वारा संरचना र सुरक्षामा सुझाव

shivam cement
मध्यान्ह
२०८२ साउन ८ गते १५:५५
हवाई सेवा प्राधिकरण विधेयक : सांसदद्वारा संरचना र सुरक्षामा सुझाव

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल आज पनि जारी रहेको छ । 

समितिमा आज संशोधन प्रस्तावक सांसदले विधेयकका विविध पक्षबारे धारणा राख्दै सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि प्रष्ट नीति आवश्यक रहेको बताएका हुन् ।

सांसद हितराज पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण विधेयक एकसाथ अघि बढाइनु पर्ने धारणा राख्दै भने, “यी विधेयक एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । प्रस्तावनामा नै मैले संशोधन राखेको छु । हामीले आफ्नै जनशक्ति उत्पादन र प्रशिक्षणमा जोड दिनुपर्ने हुन्छ, तर विधेयकमा त्यसप्रति खासै ध्यान दिइएको छैन । हवाई सेवाको गुणस्तर सुधार्न र जनशक्ति स्वदेशमै उत्पादन गर्न स्पष्ट व्यवस्था हुनुपर्छ ।” उनले प्राधिकरणलाई समयसापेक्ष र प्रभावकारी बनाइनुपर्ने भन्दै समितिको नेतृत्व सचिवले नभइ मन्त्रीले गर्नुपर्ने व्यवस्था हुनुपर्ने जसले गर्दा काम थप व्यवस्थित हुने बताए ।

सांसद योगेश भट्टराईले हवाई दुर्घटनाको बढ्दो दरबारे चिन्ता व्यक्त गर्दै भने, “५५ विमानस्थल छन्, तर सबै सञ्चालनमा छैनन्, अब कति आवश्यक छन् भन्नेबारे रणनीतिक छलफल हुनुपर्छ । नयाँ विमानस्थल निर्माणभन्दा पहिले भएका विमानस्थलको स्तरोन्नति प्राथमिक हुनुपर्छ ।”

उनले हवाई दुर्घटनाको प्रमुख कारण मानवीय गल्ती र मौसमजन्य समस्यालाई उल्लेख गर्दै मौसम पूर्वानुमान प्रणाली सुदृढ पार्नुपर्ने बताए । “भूगोल, जनसंख्या, र सडक सञ्जालको सन्दर्भमा विमानस्थलको आवश्यकता मूल्यांकन हुनुपर्छ । यसैगरी दुर्घटना निम्तिन नदिन मौसम पूर्वानुमान संयन्त्र तथा उपकरण सबै विमानस्थलमा स्थापना गर्नुपर्छ । हवाई सेवा सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन विधेयकको उद्देश्य त्यसमा केन्द्रित हुनुपर्छ ।”

सांसद सुमना श्रेष्ठले विधेयकले लगानीका विषय त्यसमाथि निजी लगानीका विषयमा पनि विधेयक स्पष्ट हुुनुपर्ने धारणा राखिन् । उनले हवाई दुर्घटनाको दीर्घकालीन अनुसन्धान एकाइ गठनको व्यवस्था विधेयकले राख्नुपर्ने सुझाव दिइन् ।

त्यस्तै, सांसद रामकृष्ण यादवले विश्वसनीय यातायातको रूपमा हवाई सेवाप्रति जनविश्वास घट्दै गएको भन्दै दीर्घकालीन समाधान र पुनःसंरचनाको आवश्यकता रहेको औंल्याए ।

नेपालमा आधुनिक, सुविधायुक्त र अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेशन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक भएकाले यो विधेयक ल्याइएको उल्लेख छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise