काठमाडौं : नेपालमा कम्युनिष्ट धारको नेतृत्व गर्ने अधिकांश नेताहरुले पार्टीको नेतृत्वमा पुगेपछि सोही पदमा सदाबहार रजगज गर्ने गरेका छन् । सार्वजनीकरुपमा प्रश्न उठ्दा नेतृत्व हस्तान्तरण गरिहाल्ने बताएपनि पार्टीभित्र विकल्पकारुपमा कोही आए त्यसलाई तलैबाट निमोठ्ने र आफ्नो हालीमुहाली कायम राख्ने प्रबृत्तिलाई पार्टी नेतृत्वले निरन्तरता दिदै आएका हुन् ।
राजनीतिक अधिकारलाई संस्थागत गर्ने चरणमा पार्टीलाई हाँक्ने नेताहरु नभएपछि एउटै व्यक्ति लामो समयसम्म पार्टीको प्रमुख पदमा बस्नै पर्ने बाध्यता पनि थियो । तर, अहिले सबै राजनीतिक दलमा एकसे एक नेताहरु जिम्मेवारी पाएको खण्डमा नेतृत्व गर्न सक्षम छन् । यद्यपि अधिकांश दलहरुमा वर्षौदेखि एकैजनाले पार्टी कब्जा गरेर हालीमुहाली गरिरहेका छन् ।
नेकपा एमालेमा सोही प्रबृत्ति हावी भएको छ । पार्टी नेतृत्वमा २ कार्यकाल विताएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वमा तेस्रो कार्यकाल समेत कब्जा गर्ने पक्का भएको छ । ओली आफैले ल्याएको नेतृत्वका लागि २ कार्याकाल र ७० वर्षे उमेरहदको वैधानिक व्यवस्थालाई पार्टीको सचिवालय, पोलिटव्यूरो र केन्द्रिय कमिटी बैठकबाट जवरजस्त हटाएरै छाडे । यो सँगै ११औं महाधिवेशनमा उनी तेस्रो पटक नेतृत्वमा आउने पक्का भएको नेकपा एमालेका नेता महेश बस्नेतले बताए ।
‘आगामी पार्टी नेतृत्वमा कमरेड केपी ओलीको विकल्प थिएन र छैन’, बस्नेतले मध्यान्हसँग भने ‘त्यसै अनुसार एमाले बैठकले निर्णय गरेको छ । एमालेमा दोस्रो तहका नेताहरु नेतृत्वकालागि तयार भइसक्नुभएको छैन ।’, ओलीको विकल्पमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने योजनामा रहेपनि ओलीको निर्देशनमा केन्द्रीय कमिटिले उनको सदस्यता निश्क्रिय बनाइदिएको छ । ‘भण्डारीको सदस्यता स्वत निश्क्रिय भएको छ’, एमाले महासचिव शंकर पोखरेलले भने ‘मुलुककै गरिमामय पद राष्ट्रपति, सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउनुले लोकतन्त्रमाथि प्रश्नहरु उठ्ने भयो र यो व्यवस्था नै कमजोर हुने स्थिति आएकाले उहाँको सदस्यता स्वतः निश्क्रिय हुनेगरी पार्टीले निर्णय लिएको छ ।’
नेताहरुको यो व्यवहारले पार्टीमा नयाँ व्यक्ति विकल्पको रुपमा अघिसार्न सक्ने अवस्था नरहेको प्रष्ट देखाएको छ । एमालेमा आफू बाचुन्जेल ओलीले अध्यक्ष पद हस्तान्तरण गर्ने अवस्था नरहेको एमालेकै असन्तुष्ट नेताहरुले टिप्पणी गरेका छन् । पार्टीमा युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, कर्ण थापा, उषाकिरण तिमल्सीनालगायत केही नेताहरुले भण्डारीलाई रोक्ने योजनासहित २ कार्याकाल, ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपतिको सदस्यता निश्क्रियताको विषयमा फरक मत राखेका छन् । तर, उनीहरुको आवाज पार्टी संस्थापन पक्षका नेताहरुले दबाएर राखेका छन् । यसले आगामी नेतृत्वका लागि ओलीको विकल्प नरहेको र वर्तमान उपाध्यक्षहरु तथा महासचिव सक्षम नरहेको स्वघोसित भएको नेता विद्याभण्डारी निकट नेताहरुले टिप्पणी गरेका छन् ।
त्यस्तै पर्टी स्थापनादेखि प्रमुख पदमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगत ३५ वर्षयता महामन्त्री र अध्यक्षको भूमिकामा छन् । कम्युनिस्ट राजनीतिमा संलग्न भएको १८ वर्षपछि ३५ वर्षको उमेरमा नेकपा मशालको प्रमुख पद महामन्त्री भएका उनी अहिले पनि पद हस्तान्तरणलाई बोलीमा सिमिति बनाउने नेता मध्यका एक हुन् । विसं २०४६ सालमा नेकपा मशालको प्रमुख भए यताका ३६ वर्षदेखि निरन्तर पार्टीको नेतृत्वमा छन् ।
साढे तीन दशक प्रचण्डको एकल नेतृत्व स्वीकार गरेको माओवादी केन्द्रमा दोस्रो पुस्ताका नेताहरु नेतृत्वको लागि तयार छैनन् । सो दलका नेतृत्व गर्ने तहमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पार्टीमा प्रचण्डको दबदबा सहमन नसकेर निस्कीएका थिए । त्यसपछि माओवादीमा कोही नेताहरु पार्टी अध्यक्षका लागि प्रचण्डको विकल्प उभिने आँट गर्दैनन् । उपमहासचिव जनार्दन शर्मा प्रभाकरले वेला वखत प्रचण्डलाई काउन्टर दिने खोजेजस्तो देखिएपनि अध्यक्ष प्रचण्डको अगाडी जनार्दनको केही नलाग्ने नेकपा माओवादी केन्द्रका नेताहरु बताउँछन् । ‘पार्टीको नेतृत्व गर्नु कम्ती चुनौतिपूर्ण छैन’, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हिमाल शर्माले भने ‘पार्टी नेतृत्वको तयारी त दोस्रो तहका नेताहरुले पनि गर्नुभएकै होला, तर यो विषय सजिलो छैन । पार्टी अध्यक्षले सावर्जनीकरुपमै नेतृत्वका लागि आब्हान गर्नुभएको छ । यद्यपि अहिले नै कोही तयार भएजस्तो देखिदैन् ।’ नेतृत्व भनेको राजनीतिक आन्दोलनले स्थापित गर्ने जिम्मेवार पद भएको उनको भनाई छ ।
गत महाधिवेशनमा पार्टी विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नपाउनेगरी विधान संशोधन गर्न प्रस्ताव गरेपनि प्रचण्ड नेतृत्वको अगाडि कसैले पनि चुनौती दिन नसकेको माओवादीका नेताहरु बताउँछन् ।
३५ वर्षको हुँदा कट्टर वामपन्थीहरूको दल नेकपा मशालको प्रमुख अर्थात् महामन्त्री भएका पुष्पकमल दाहाल अघिल्लो ७० वर्ष भइसकेका छन । अझै उनी पार्टी नेतृत्व छाड्ने र नयाँलाई नेता स्थापित गर्न सहयोग गर्ने पक्षमा छैनन् ।
उता जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव पनि आजिवन पार्टी नेतृत्वमा छन् । २८ जेठ २०८१ म भएको महाधिवेशनमा उनि निर्विरोध अध्यक्ष चयन भएका हुन् । सामाजिक संस्थाको रूपमा गठन भएको मधेसी जनअधिकार फोरम नेपालको अध्यक्षमा उपेन्द्र यादव २०५४ मै चयन भएका थिए । यादव कम्युनिष्ट धारकै नेता हुन् । २०६३ मा मधेसी जनअधिकार फोरम नेपाल दर्ता गराएपछि यादव निरन्तर अध्यक्ष छन् । उनले नेतृत्वको विकल्प खोज्ने नेताहरु पाखा लगाइसकेका छन् ।
जसपा नेपालमा उपेन्द्र यादवलाई महन्थ ठाकुर, राजेन्द्र महतो, डा.बाबुराम भटट्राई, महिन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठको डर थियो । उनीहरूले पार्टीको अध्यक्षमा दाबी गर्ने हो कि भन्ने चिन्ता भएका यादवले बिस्तै सबै नेतालाई साइड लगाएर आफै अध्यक्ष बनेको मधेशी नेताहरुको आरोप छ ।
१५ वर्ष एमले पार्टीको नेतृत्व (महासचिव) बनेका माधव कुमार नेपाल केपी ओलीले एमलेमा एकैटी चलाएपछि पार्टी फुटाएर फेरि नेकपा एकिकृत समाजवादीको अध्यक्ष बनेका नेता हुन् । गत महाधिवेशनमा उनले अरुलाई नेतृत्व हस्तान्तरण गर्न चाहेनन् । नेतृत्वक हस्तान्तरण गर्न युवा पुस्ताको दाबाबकाबीच अनेकन तिकडम गरेर उनी अध्यक्ष बनेको नेकपा एसकी पूर्वसचिव रामकुमारी झाँक्रीले पटक पटक अभिव्यक्ति दिदै आएकी छिन् । यही मुद्दा उठाउँदा पार्टीमा एक्लिएकी झाँक्री अहिले माधव नेपाल र उनको समुहसँग रुष्ट छिन् । अन्य साना कम्युनिष्ट घटकहरुमा समेत नेतृत्व हस्तान्तरणको समस्या उस्तै छ ।
नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र(विप्लव), नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, विभिन्न दल खोल्दै अध्यक्ष बनेका बाबुराम भट्टराई अहिले नेसपा नयाँ शक्ति पार्टीको अध्यक्ष नै छन् । उनीहरुकै नेतृत्वमा पर्टी विभाजनपश्चता स्थापना भएका दलमा नयाँ नेतृत्व आउने सम्भावना छैन् । बरु नेतृत्वको लडाईँमा थुप्रै कम्युनिष्ट नेताहरुले पार्टी फुटाएर साना पार्टी बनाउँदै आएका छन् ।