काठमाडौँ : अनलाइन टिभी पत्रकार तथा नेप्लिज टाइम्स डटकमका प्रधान सम्पादक टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेत र उनका समर्थकहरूले धम्की दिएको भन्दै अनलाइन टिभी पत्रकार संघ नेपालले आपत्ति जनाएको छ ।
सङ्घका महासचिव पवन फुयालद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ– “शाक्यले सार्वजनिक गरेको धम्कीसम्बन्धी अडियोमा सुरक्षाको खतरासमेत अनुभव हुने खालका अभिव्यक्ति सुन्न सकिन्छ । त्यसभन्दा बाहेक पनि शाक्यलाई दर्जनौं व्यक्तिहरूले फरक–फरक नम्बरबाट फोन गर्दै ज्यान मार्नेसम्मको धम्की दिएका छन् ।”
सङ्घले यसलाई पत्रकारको नैसर्गिक अधिकारमाथि ठाडो आक्रमणको रूपमा व्याख्या गर्दै कडा खेद व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– “सञ्चारमाध्यममा प्रकाशित सामग्रीबारे असन्तुष्टि भएमा कारबाही गराउने कानुनी बाटो र निकायहरू प्रशस्तै छन् । तर धम्की र डर देखाउने कार्य कुनै हालतमा स्वीकार्य छैन ।”
अनलाइन टिभी पत्रकार सङ्घले धम्की दिनेहरूलाई तत्काल कारबाही गर्न र पत्रकार शाक्यको सुरक्षाको व्यवस्था गर्न सरकारलाई जोडदार माग गरेको छ । साथै, समाचार सम्प्रेषणकै कारण पत्रकारहरू असुरक्षित बन्नुपर्ने अवस्था तत्काल अन्त्य गर्नुपर्ने पनि सङ्घको आग्रह छ ।