काठमाडौं : लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ले हरेक वर्षको ‘गाईजात्रा’लाई लक्षित गर्दै हास्यव्यंग्य सामग्री बजारमा ल्याउने गर्छन् । यस्तैमा यो वर्ष पनि उनले नेताहरुलाई व्यंग्यको झटारो प्रहार गर्दै गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटंकी’ ल्याएका छन् ।
‘मिसन नौटंकी’मा उनले देशमा सबैको चासो र चिन्ताको विषय भष्टाचार र नेताहरुको गलत क्रियाकलाप उठाएका छन् । उनले पछिल्लो समय जुनै दलका नेताहरुले भन्ने गरेको ‘मिसन ८४’का विषयलाई समेत नौटंकीको रुपमा संख्या दिँदै तिखो व्यंग्य गरेका छन् । ‘मिसन नौटंकी’ ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।
नेताहरुको क्रियाकलाप र समाजका विकृति विसंगतीमाथि व्यंग्य गर्दै दर्शक तथा स्रोतालाई हास्यव्यंग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले ‘मिसन नौटंकी’ सार्वजनिक गरिएको कलाकार रिजालले बताए ।
हरेक वर्ष जस्तै यो पटक पनि उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी समेटेका छन् । यसपटक उनले हिट फिल्म ‘जाजै जात्रा’को गीत ‘लाइदेउ माया पिरिम’मा प्यारोडी बनाएका छन् । जसमा रवि लामिछानेको जेल, नेताहरुको क्रियाकलाप, भष्टचार, लुटपाटलगायतका विषय उठाएका छन् ।
वि.सं. २०६१ देखि नियमित ‘गाईजात्रे’ कोसेली ल्याउँदै आएका रिजालको ‘मिसन नौटंकी’ २२औं कोसेली हो । गत वर्ष उनले ‘लुछाचुडी’ ल्याएका थिए ।
‘मिसन नौटंकी’मा रिजालका अलवा राधिका हमाल, प्रेम शर्मा पौडेल, सवित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणि अधिकारी, बलराम धमला ‘ठूले दाइ’, सविना बिक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । ‘मिसन नौटंकी’ लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैंले गरेका हुन् ।
गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकाले सधैं झैं यो वर्षपनि गाईजात्रे झटारो ल्याएको रिजालले बताए । ‘सधैं झैं यो वर्षपनि दर्शकस्रोताले मेरो कोसेलीलाई माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने । रिजाल अहिले राष्ट्रिय नाचघरले आयोजना गर्ने गाईजात्रे कार्यक्रमको तयारीमा जुटेका छन् ।