काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बीपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् ।
कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज यहाँ बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रूपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बीपी ’ विषयक अन्तक्र्रियामा उनले बीपी को मेलमिलाप नीति आज पनि सान्दर्भिक भएको बताए ।
सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रूपमा लोकतन्त्रको पक्षमा बीपी कोइराला उभिएको स्मरण गरे । “वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बीपी को सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ,” सभापति देउवाले भने ।
राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा बीपी को दृढ मत भएको उनको भनाई छ । उनले बीपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गरे। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउनुभएको सभापति देउवाले बताए।
बीपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको उनको भनाइ छ । उनले बीपी कोइराला सधैँ आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्नेमा अडिग नेता भएको बताए ।
देउवाले भारत निर्वासनमा रहेर तत्कालीन निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठ वटा ज्यान मुद्दा हुँदाहुँदै बीपी नेपाल फर्किएको स्मरण गरे । बीपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यताले नै नेपाली कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ छ ।