डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनार खेती गरेर वार्षिक रु. ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ ।
वार्षिक रु. ५० लाख आम्दानी गर्ने लक्ष्यसहित यहाँका कृषकले व्यावसायिक अनार खेती सुरु गरेका हुन् । महादेव अनार खेती समूहले स्थानीय किसानलाई संगठित गर्दै रु. २० हजार वार्षिक भाडा तिरेर उक्त जमिन उपयोगमा ल्याइएको हो ।
दश महिनाअघि रोपिएका १० हजार अनारका बिरुवामध्ये हालसम्म आठ हजारभन्दा बढी बिरुवा सप्रिएका अनार खेती समूहले जनाएको छ । यसै वर्षदेखि फल दिन थालिसकेका जनाउँदै समूहका अध्यक्ष मदनराज पनेरुले बिरुवा रौतहटबाट मगाइएको बताए।
जिल्लास्थित कृषि ज्ञान केन्द्र र समूहको संयुक्त आर्थिक लगानीमा सञ्चालित यो आयोजनामा अहिलेसम्म रु.६५ लाख लगानी भइसकेको अध्यक्ष पनेरुले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार र कृषकको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमलाई कृषि पर्यटनसँग जोड्दै थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
बृहत् अनार खेती कार्यक्रमलाई कृषि पर्यटनका रूपमा विकास गर्ने प्रयास थालिएको अजयमेरु-२ का वडाध्यक्ष शिवराज भट्टले बताए। बडीमा सुरु गरिएको बृहत् अनार खेती परियोजना भविष्यमा कृषि पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले सो क्षेत्र अनार खेतीका लागि उपयुक्त भएकाले ‘अनार खेतीको जोन’ का रूपमा आगामी दिनमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
किसानले लगाएको अनार फल्न सुरु भएकाले सो क्षेत्र व्यावसायिक अनार खेतीका लागि उपयुक्त मानिएको उनले बताए । उनका अनुसार अनार दुई हजार मिटर अग्लो स्थानसम्म फल्ने गर्दछ ।