अर्घाखाँची : अर्घाखाँचीमा किसानको बालीनाली जोगाउन र जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालयले २० जना हेरालु परिचालन गरेको छ । बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावर खेतबारीमा धान, मकै, तरकारी जस्ता अन्नबालीमा क्षति पु¥याउन थालेपछि कार्यालयले वन हेरालु नियुक्त गरी कार्यक्षेत्रमा खटाएको हो ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठका अनुसार, केही दिन अघि कार्यालयले एक सूचना प्रकाशित गरेपछि वडा कार्यालयको सिफारिससहित युवायुवतीहरूबाट आवेदन संकलन गरिएको थियो । प्राप्त आवेदनहरूमध्येबाट २० जना व्यक्तिहरू छनोट गरी नामावली सार्वजनिक गरिएको र उनीहरूसँग औपचारिक सम्झौता गरेर स्थानिय नागरिकसँग समन्वय गर्दै कार्यक्षेत्रमा खटाइएको जानकारी उनले दिए ।
वन अधिकृत श्रेष्ठले हेरालुहरूलाई किसानको खेतबारीको सुरक्षा गर्न, जङ्गली जनावरलाई लखेट्न तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै सहअस्तित्वको वातावरण बनाउने गरी निर्देशन दिइएको पनि बताए ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केसव खड्काले भने, ‘किसानको खेतीबाली सुरक्षित गर्नु र मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्व प्रवद्र्धन गर्नु हाम्रो उद्देश्य हो । यो कार्यक्रम खासगरी स्थानीय तहबाट हुनु पर्ने हो, तर हाल डिभिजन वन कार्यालयले अग्रसरता लिएको छ । यदि सफल भयो भने यसलाई निरन्तरता दिइनेछ ।’
कार्यक्रम डिभिजन वन कार्यालय अन्तर्गतका वन व्यवस्थापनमा सक्रिय १० वटा सामुदायिक वन समूहहरूको संयुक्त सहकार्यमा अगाडि बढाइएको हो। ती समूहहरूको कोषमा मौज्दात आय राम्रो रहेको र त्यसैको सहयोगमा कार्यालयले सूचना प्रकाशित गरेपछि आवेदन आह्वान गरिएको थियो । प्राप्त आवेदनहरूमध्येबाट बाँदर र बँदेल हेरालुका रूपमा छनोट गरिएका २० जनालाई तीन महिनाको अवधिका लागि मासिक १० हजार रुपैयाँ दरले नियुक्त गरिएको हो ।
हालका लागि पहिलो चरणमा आवेदन दिएका वडाहरूबाट मात्र २० जना नियुक्त गरिएको र आगामी दिनमा आवश्यकतानुसार यो संख्या थप गर्न सकिने डिभिजन वन कार्यालयले जनाएको छ ।