२०८२ साउन ५ गते सोमवार / Jul 21 , 2025 , Monday
२०८२ साउन ५ गते सोमवार
Ads

मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

shivam cement
मध्यान्ह
२०८२ साउन ५ गते १५:०४
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

मनाङ : हिमाली जिल्ला मनाङमा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ । 

उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्यांकअनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका दुई हजार ५५४ र अन्य राष्ट्रका ३५ हजार १७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा १३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उनले जानकारी दिए । 

यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार ३५८ नागरिकले मनाङ भ्रमण गरेको भुजेलले बताए । फ्रान्सका तीन हजार ६१६ र जर्मनीका दुई हजार ८४२ नागरिकले भ्रमण गरेका छन् । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उनले बताए । 

आर्थिक वर्ष २०८०/८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए । यस वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्यांकमा उल्लेख छ । यस वर्षमा इजरायली नागरिकको संख्या अधिक रहेको उनको भनाइ छ । उनले भने, “यहाँ आउने पर्यटकको आगमन बढ्ने क्रममा छ । यहाँका स्थानीय कृषि र पर्यटन व्यवसायमा निर्भर छन् । पर्यटकको आगमनले यहाँको आर्थिक स्तर वृद्धि हुनाका साथै राष्ट्रकै अर्थतन्त्रमा सुधार गरिरहेको छ ।”

विश्वको १०औं स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ । उनले भने, “अन्य देशबाट पर्यटक आउने भए पनि इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक बढी आउने गरेका छन् । संख्याका आधारमा यी राष्ट्रबाट धेरै हुन् । अमेरिका, चीन, रसिया, भारतीय पर्यटक आउने क्रम बढ्दै गएको तथ्यांक हामीमा दर्ता भएका छन् ।” मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । 

आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए । उनले भने, “तीन/चार दिन लगातार बिदा परेको बेलामा मनाङमा आन्तरिक पर्यटकको आगमन बढी भएको पाएका छौं । भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बिस्तारै बढ्दै गएको छ । विशेषगरी हाल मनाङ भ्रमणका लागि आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।” आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन । तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ ।

मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । लगातार बिदा भएको समयमा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका पाइएको उनले बताए । 

दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । 

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुवात गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् ।

ADV

सम्बन्धित खबर

Advertise