काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको खट्पट् सार्वजनिकरूपमा छताछुल्ल भएको छ । पार्टीका शीर्ष नेताहरूबीच एक अर्कोप्रतिको छेडखानायुक्त सवाल जवाफले एमालेभित्र कलहको विरूवा झाँगिदै गएको प्रष्ट देखिएको हो ।
पार्टीको सक्रिय राजनीतिमा हाम फालेकी पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई आगामी नेतृत्वमा रोक्ने र पार्टी अध्यक्ष बनाउँने भन्नेबीचको लडाइँले एमाले नेताहरूबीच वाकयुद्ध नै चलेको छ । आगामी भदौं २०–२२ मा हुने विधान महाधिवेशनको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेपछि यो विषयमा नेताहरू दुई ध्रुबमा विभाजन भएका छन् ।
सचिवालयको निर्णय लगत्तै पार्टी महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका थिए । ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ’, उनले भनेका छन् –‘मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’ उनको यो अभिव्यक्तिले एमालेको आगामी नेतृत्वमा फेरि पनि केपी ओलीलाई नै स्थापित गराउने पक्का भएको संकेत गरेको छ ।
महासचिव पोखरेलको उक्त सार्वजनिक अभिव्यक्तिप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले काउन्टरयुक्त जवाफ फर्काएका थिए । उनले पार्टी सचिवालयमा प्रस्तावित विषय पोलिट्व्युरो बैठकमा व्यापक छलफल भएरमात्रै निर्णय हुने बताएका थिए । उनी नेतृत्वका लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा विधानबाट नहटाउने पक्षमा प्रष्ट उभिएका छन् । यो विषयमा पार्टीमा बृहत् छलफल गर्नुपर्ने उनको धारणा छ । सचिवालय बैठकले बरिष्ठ पद समेत खारेजीको निर्णय गरेको बताएपछि उनी सो निर्णयप्रति थप सशंकित बनेका हुन् ।
पार्टीमा एकाएक पूर्वराष्ट्रपतिको सक्रियता बढेपछि सो विषयमा पार्टीभित्र २ धार प्रष्ट देखिएको छ । एमालेमा ओली नेतृत्वमा आएदेखि गुटको अन्त्य हुँदै नेतृत्वको हुबहु आदेश मान्ने अवस्था बनेको थियो । पार्टी अध्यक्ष ओलीको आदेश विपरित कसैले बोल्यो भने पनि पार्टीबाट निष्काशनमा परेका कयौं घटनाहरू ताजै रहेको एक नेताले मध्यान्हलाई बताए । उनले भने ‘पछिल्लो पटक हाम्रो पार्टीमा आन्तरिक लोकतान्त्रको अभ्यासमा अंकुश लगाउने काम भएको छ । यसलाई चिर्न पार्टीका दोस्रो पुस्ताले आफूलाई राजनीतिक प्राणी भएको प्रमाणित गर्न ढिला गर्नु हुँदैन ।’
पूर्व महासचिव माधव नेपालको नेतृत्वमा र पछिल्लो पटक झलनाथ खनालको नेतृत्व रहँदासम्म पार्टीभित्र ओलीले एउटा बलियो गुट चलाउँदै आएका थिए । उनले त्यसबेला आन्तरिक लोकतान्त्रको अभ्यासदेखि नेतृत्वको आलोचनाको विषयलाई गम्भीरताकासाथ उठाउने गरेका थिए । तर अहिले एमालेमा त्यो सुविधा नभएको एमालेका एक पोलिट्व्युरो सदस्यले बताए । यही पेरिफेरीमा रहेर पार्टीभित्र अहिले फरक फरक कोणबाट बहसहरू समेत भइरहेको उनको भनाई छ ।
पार्टी विधानमा भएको ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने विषयमा पार्टी अध्यष ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच समेत चर्काचर्की भएको छ । पोखरेल गामी पार्टी नेतृत्वमा नयाँ व्यक्ति आउनुपर्ने पक्षमा छन् । तर, महासचिव शंकर पोखरेल ओलीलाई नै अध्यक्ष बनाएर आफू ओलीको दाहिना बन्ने योजनामा निरन्तर खटेका छन् ।
एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन पदमा बस्ने प्रवृत्ति र विधिविपरीत निर्णय गर्ने प्रयासको कडा आलोचना गरे । अध्यक्ष केपी शर्मा ओली आफैंले प्रस्तुत गरेको नीति र दस्तावेजलाई मिच्दै अघि बढ्न खोजेको थापाको आरोप छ ।
एमालेभित्र विधि र संस्थागत निर्णयहरूलाई कमजोर पार्ने प्रयासहरू भइरहेको भन्दै थापाले मध्यान्हसँग भने ‘केपी ओलीले नै ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमाको कुरा उठाएर वैज्ञानिक बनाएका थिए, तर अहिले आफैंले त्यसलाई मिच्ने काम गर्नु उचित होइन ।’
अहिले सचिवालय बैठकले हटाउने निर्णय ग¥यो भनेर फैलाइएको कुरा गलत भएको थापाको जिकीर छ । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिट्व्यूरो बैठकमा थापाले भनेका थिए ‘पार्टीको संगठनात्मक प्रस्तावको पृष्ठ २३, ३० र ३१ मा यो कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ । वडास्तरदेखि केन्द्रसम्म यही मापदण्ड लागू हुने भनिएको छ ।’ भरतमोहन अधिकारी, अमृतकुमार बोहोरा, मोदनाथ प्रश्रित जस्ता वरिष्ठ नेताहरूमा उमेर हद लागू गरिसकिएको अवस्थामा त्यसलाई निरन्तरता दिनुपर्ने थापाको जोड छ ।
‘नीतिमा भन्दा धेरै नेतृत्वमा टक्कर हुने भएकाले विधिको पालना जरुरी छ । विधि कार्यान्वयन हुँदा मनोमानी चल्दैन’, उनले भने । थापाले महासचिव शंकर पोखरेलमाथि निर्णय नभएको विषयलाई अफवाहको रूपमा सार्वजनिक गरेको आरोप समेत लगाएका छन् । ‘सचिवालयले निर्णय गरेको भए पोलिटब्युरोमा फेरि छलफल किन गर्नुपथ्र्यो ? यो पदको दुरुपयोग हो’, महासचिव पोखरेलको अभिव्यक्तिप्रति उनले पार्टी बैठकमै कटाक्ष गरे ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावमा अध्यक्ष ओलीकै निर्देशन अनुसार उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव राखेको आरोप लागेको छ । यो विषयमा फरक मत राख्नेहरूलाई पार्टी बैठकमा अन्तिममा बोल्ने समय दिइएको थियो । शुक्रबार ७ जनाले मात्रै बोल्न पाएका थिए ।
पोलिट्व्यूरो बैठकमा सबैभन्दा अन्तिममा बोल्ने पालो पाएका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टी विधानमा भएको व्यवस्था र आन्तरिक लोकतान्त्रीकरणको विषयलाई जोडतोकासाथ उठाएपछि अध्यक्ष ओली र थापाबीच भनाभनको अवस्था बनेको थियो । बिहीबार भएको सचिवालय बैठकमा भएका निर्णयबारे पोलिट्व्यूरो बैठकमा जानकारी दिएर सुरू भएको पोलिटव्युरो बैठक समय नपुगेर शनिबारलाई सारिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।