–जनक बराल
साहित्य समाजको आत्मा हो । हरेक राष्ट्र, संस्कृति र समुदायको आफ्नै विशिष्ट साहित्यिक पहिचान हुन्छ, जसले त्यस समाजको सोच, संवेदना, संघर्ष र सपनाहरूलाई शब्दमा उतार्छ । नेपालजस्तो विविधताले भरिएको देशमा पनि साहित्यको इतिहास गौरवपूर्ण रहँदै आएको छ । तर, पछिल्लो समय एक गम्भीर प्रश्न उठ्न थालेको छ– किन घट्दैछ पाठकमा साहित्यिक पुस्तकप्रति रुचि ?
विगतमा प्रेम, देशप्रेम, समाज सुधार, संघर्ष र चेतनाका सन्देश बोकेका पुस्तकहरूले युवामाझ क्रान्तिकारी चेतना भर्ने काम गर्थे । ‘शिरिषको फूल’, ‘सुम्निमा’, ‘साया’, ‘फरार’, ‘फूलको आँखामा’, ‘सेतो धरती’, ‘गुलाफको काँडाबीच’, ‘कर्णाली ब्लुज’ जस्ता कृतिहरूको चर्चा मात्र हैन, पाठकका मनमा गहिरो छाप पनि परेको थियो । तर, आज त्यही पाठक वर्ग खासगरी युवापुस्ताको साहित्यप्रतिको आकर्षण घट्दो क्रममा देखिन्छ ।
साहित्यिक पुस्तकप्रतिको रुचि घट्नुको प्रमुख कारणमध्ये एक हो— प्रविधिको चमत्कारी विकास । स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जालको व्यापक पहुँचसँगै मानिसको ध्यान आर्कषित गर्ने माध्यमहरू असंख्य छन् । यूट्युब, टिकटक, इन्स्टा, फेसबुक जस्ता प्लेटफर्महरूले छोटो समयमा मनोरञ्जन दिने, ट्रेन्डिङ सामग्री प्रस्तुत गर्ने क्षमताका कारण मानिसहरूलाई गहिरो पढाइतिर आकर्षित गर्न सकिरहेका छैनन् ।
अर्को महत्वपूर्ण पक्ष, ‘ई–बुक’ र अडियोबुकको वर्चस्व हो । आजको पुस्ताले हातमा किताबको गन्ध सुन्नेभन्दा बढी मोबाइलमा ‘स्क्रोल’ गर्न रुचाउँछ । विभिन्न अनलाइन प्लेटफर्महरूले भौतिक पुस्तकको ठाउँ लिन थालेका छन् । तर, यस्ता माध्यमहरूमा नेपाली साहित्यिक सामग्रीको उपस्थिति कमजोर छ, जसले पाठक र नेपाली साहित्य बीचको दूरी बढाइरहेको छ ।
नेपालको औपचारिक शिक्षा प्रणालीमा साहित्यप्रतिको सही सम्मान र प्रस्तुति नहुनु पनि रुचि घट्नुको एक कारण हो । पाठ्यक्रममा साहित्यिक कृति समावेश गरिए पनि त्यसलाई ‘पढ्नुपर्ने विषय’ मात्रै मानिन्छ, अनुभव गर्नुपर्ने साहित्य होइन । शिक्षकहरूको पनि रुचिकर शैलीमा साहित्य पढाउने झुकाव न्यून देखिन्छ । यसले विद्यार्थीहरूमा प्रारम्भिक चरणमै साहित्यप्रतिको उत्साह घटाउँछ । साहित्यिक बहस, पुस्तक समीक्षा, लेखक–पाठक अन्तक्र्रिया जस्ता गतिविधिहरू शिक्षालयहरूमा गरिनु पर्नेमा यसको थालनी अझै पनि सिमित रूपमा मात्र भइरहेको छ ।
पछिल्लो समय नेपाली साहित्य बजारमैत्री बन्न थालेको छ । ‘बेस्ट सेलर’ भन्ने नाराले गहिरो साहित्यभन्दा पपुलर र प्रयोगात्मक शैलीका किताबहरूको प्रचार बढेको छ । प्रेमकथा, थ्रिलर, आत्मकथा, मोटिभेसनल शैलीका पुस्तकहरूको बाढी चलेको छ, तर साहित्यको गाम्भीर्य, सौन्दर्य र कलात्मक गहिराइ घटेको छ ।
साहित्यलाई ‘ब्रान्डिङ’ गरिने माध्यम बनाउने दौडले पाठकहरूलाई द्विविधामा पारेको छ—उनीहरू साहित्यिक गहिराइ खोज्ने कि ‘टिकटक शैली’का छोटा र सजिला कथा ? जसका कारण गम्भीर साहित्यप्रेमीको संख्यामा कमी आएको देखिन्छ ।
सामाजिक दृष्टिकोणले हेर्दा पनि पढ्ने संस्कार दिनप्रतिदिन घट्दो क्रममा छ । साझा पुस्तकालय, राष्ट्रिय पुस्तकालय, स्कुल तथा क्याम्पस पुस्तकालयहरू पुरानै अवस्थाका छन्, तिनीहरूको नविकरण, डिजिटाइजेसन वा प्रवद्र्धन हुन सकेको छैन । ग्रामीण भेग त झनै पुस्तकविहीन छन् । शहरका पुस्तक पसलमा उपन्यास र आत्मकथाले भरिएका छन्, कविता, निबन्ध, समालोचना, बाल साहित्य, लोककथा जस्ता विधाहरू ओझेलमा छन् ।
बालबालिका र किशोरावस्थादेखि नै पढ्ने बानी नबसालिने हो भने प्रौढ अवस्थामा पुगेर साहित्यप्रति रुचि बढ्ने सम्भावना न्यून रहन्छ । हामीकहाँ शिक्षाले ज्ञानका लागि होइन, जागिरका लागि मात्र पढ्ने सोच विकास गरिदिएको छ, जसले साहित्यलाई द्वितीय विकल्पमा धकेलेको छ ।
नयाँ पुस्ताका लेखकहरूले समाजका भोगाइ, संघर्ष, जातीय विभेद, लैङ्गिक असमानता, वैदेशिक रोजगारी, मानसिक स्वास्थ्यजस्ता समकालीन विषय उठाएका छन् । तर, पुरानो पुस्ताले अझै पनि साहित्यको मूल्यांकन परम्परागत फ्रेममा गर्छन् । यसले नयाँ र पुराना पुस्ताबीच दूरी बढाएको छ ।
विगतका प्रतिष्ठित लेखकहरूको छायामा रहेका नयाँ लेखकहरू आफैंलाई स्थापित गर्न कठिनाइ महसुस गर्छन्, जसले तिनको लेखनमा निराशा वा आत्मकेन्द्रितता झल्किएको पाइन्छ । यसले पनि पाठकमा द्विविधा पैदा गर्छ— कसको लेखाइ पढ्ने ? कसको लेखन साँचो साहित्य हो ?
आजकल साहित्यकार बन्ने चाहना धेरैले गर्छन्, तर साहित्यकार बन्न गहिरो अध्ययन, दृष्टिकोण, संवेदना र समय चाहिन्छ । धेरै लेखकले किताबलाई आफ्नो छवि निर्माणको उपकरणका रूपमा प्रयोग गर्न थालेका छन् । पुस्तक विमोचन कार्यक्रमहरूमा सेलिब्रेटी देखाएर प्रचार गर्ने चलनले पनि साहित्यको मौलिकता घटाइरहेको छ ।
पाठकहरूलाई ‘सस्तो मनोरञ्जन’ दिने पुस्तकहरूले बजार त पाउँछन्, तर साहित्यिक मूल्य घटाउँछन् । परिणामतः गम्भीर पाठक निराश भएर विमुख हुन थालेका छन् । लेखनद्वारा उदाएका लेखकहरू, बुद्धिसागर (कर्णाली ब्लुज), अमर न्यौपाने (सेतो धरती), नयनराज पाण्डे (उलार), खगेन्द्र संग्रौला, पारिजात जस्ता लेखकहरूले आफ्नो समयको चित्रण गरेका उत्कृष्ट कृतिहरू दिए ।
तर पछिल्लो दशकमा ‘साया’, ‘प्रिय सुस्मिता’, ‘फरार’, ‘बीसौं शताब्दीको प्रेम’, ‘गोपी’ जस्ता किताबहरूले बजार जिते पनि आलोचनात्मक समीक्षा कम पाएका छन् । बाल साहित्यः इन्द्रबहादुर राई, मनु ब्राजाकी हालका केही लेखकहरू बालबालिकाका लागि लेखिरहेका छन्, तर यस्तो साहित्यको बजार साँघुरो छ, जसले भविष्यका पाठक तयार गर्न सकिरहेको छैन ।
केवल पाठ्यपुस्तकका रूपमा होइन, साहित्यलाई अनुभूति गराउने माध्यमको रूपमा प्रस्तुत गर्नुपर्नेछ । गाउँ–सहरमा पुस्तकालयको सञ्जाल विस्तार गरी पाठकलाई सहज पहुँच उपलब्ध गराउनु जरुरी छ । नेपाली साहित्यलाई अडियोबुक, ई–बुक र डिजिटल पोर्टलहरूमा सशक्त रूपमा प्रविष्ट गराउनुपर्नेछ । पुस्तक मेला, साहित्यिक गोष्ठी र लेखक–पाठक संवाद जस्ता कार्यक्रमहरूले नयाँ पाठकको उत्साह बढाउन सक्छन् । साहित्यिक लेखन, प्रकाशन, पुस्तक वितरणका लागि अनुदान, पुरस्कार र अवसरको सिर्जना गरिनु आवश्यक छ ।
निष्कर्षमा, पाठकमा साहित्यिक पुस्तकप्रति घट्दो रुचि कुनै संयोग होइन, यो सामाजिक, प्रविधिक, शैक्षिक र साहित्यिक विविध कारकको परिणाम हो । यथार्थको सही मूल्यांकन गर्दै अबको पुस्तालाई किताबप्रेमी बनाउने, गहिरो चिन्तन गराउने र सिर्जनशीलता विकास गर्ने वातावरण तयार गर्नुपर्ने बेला आएको छ ।
नत्र, साहित्य केवल पुरस्कार र प्रचारका लागि लेखिने वस्तु बन्नेछ, जुन समाजको आत्मा होइन, केवल व्यापारिक वस्तु मात्र हुनेछ । यसप्रति सशक्त चेतना आवश्यक छ— लेखक, पाठक, शिक्षक, राज्य, प्रकाशक सबैबाट । साहित्यको मृत्यु भनेको संवेदनाको मृत्यु हो । संवेदना मरेपछि समाज निष्क्रिय र असंवेदनशील हुन्छ, जुन कुनै पनि राष्ट्रका लागि शुभ संकेत होइन ।