काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले एक वर्षमा ६ सय ३१ मेगावाट विद्युत थपिएको बताएका छन् । मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा विहीबार गरिएको पत्रकार सम्मेलनमा नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए ।
उनले प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौता अनुरूप कार्ययोजना बनाएर ‘डे वान’ देखि नै परिणाममुखी ढंगमा काम अघि बढाएको भन्दै एक वर्षमा ६ सय ३१ मेगावाट विद्युत थपिएको छ भने कुल जडित क्षमता ३८ सय ७८ मेगावाट पुगेको छ । उनले भने, ‘म मन्त्री हुनुभन्दा अघि ३२ सय मेगावाटको हाराहारीमा विद्युत उत्पादन हुने गरेकोमा अहिले ३८ सय ७८ मेगावाट विद्युत उत्पादन भइ राष्ट्रिय प्रशारण लाइनमा जोडिएको र दैनिक आठ सय मेगावाट भन्दा बढी विद्युत भारत र बंगलादेशमा बिक्री भइरहेको छ ।’
मन्त्री खड्काले आफ्नो एक वर्ष कार्यकालमा कार्यसम्पादन गर्दै मन्त्रालयले ८० प्रतिशत प्रगति हासिल भएको दाबी गरे । अहिले ऊर्जा मन्त्रालयले पहिलो पटक ऊर्जा विकास मार्गचित्र–२०८१ जारी गरेको भन्दै सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि ४६.५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय योजना पनि तयार भएको पनि उनले बताए ।
अहिले १५ हजार मेगावाट विद्युत भारत र बंगलादेशलाई निर्यात गर्ने सम्झौता भइसकेको छ भने १३ हजार पाँच सय मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य राखिएको छ । बंगलादेशमा पहिलो पटक डलरमा ४० मेगावाट विद्युत बिक्री गर्दै पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने सुनिश्चितता गरिएको छ । मन्त्री खड्काले भारतमा नौ सय ४१ मेगावाट निर्यात र एक हजार मेगावाट आयातको स्वीकृति प्राप्त भएको बताए । वर्खायाममा ८ सय ५० मेगावाटसम्म निर्यात गरिएको छ भने बंगलादेशसँग पहिलो पटक ४० मेगावाटको विद्युत डलर भुक्तानीमा निर्यात सुरु भएको छ । यसबाट वार्षिक एक अर्ब २५ करोड आम्दानी सुनिश्चित भएको मन्त्री खड्काले बताए ।
मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने प्रक्रिया सुरु भएको बताए । उनले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन आफूले सार्वजनिक गरेको भन्दै आयोगको प्रतिवेदनअनुसार बक्यौता विवाद समाधान गर्न र ऊठ्नुपर्ने रकम एक पैसा पनि नछोड्न प्राधिकरण र विद्युत नियमन आयोगलाई निर्देशन दिएको बताए । व्यवसायीले लिएको विद्युत्को पैसा तिर्नु नै पर्ने उनको भनाइ थियो ।
यस्तै, उनकाअनुसार वैकल्पिक ऊर्जाको क्षेत्रमा एक वर्षमा तीन सय ९७ किलावाट लघु जलविद्युत, ६ सय तीन किलोवाट सौर्य प्रणाली स्थापना भएको छ । यसबाहेक तीन हजार पाँच सय ८४ बायोग्यास प्लान्ट, चार हजार एक सय ४२ घरेलु सौर्य प्रणाली र तीन सय २० सुधारिएको चुलो जडान भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्काको एक वर्षे कार्यकालमा १७ हजार तीन सय ८ हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विस्तार भई १५ लाख ८६ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । तटीय सुरक्षाको क्षेत्रमा ५० किलोमिटर तटबन्ध निर्माण भई चार सय ७० हेक्टर जमिन उकासिएको मन्त्रालयले जनाएको छ ।