–युवराज शर्मा
कवि ठाकुर बेलवासेले २०८२ साल वैशाखको दोस्रो साता नयाँ र आफ्नो चौथो कविता कृति ‘चोटहरूको उत्सव’ लिएर पाठकका माझ आएका छन् । २०५८ सालमा सागरको वरिपरि मनहरूको समारोह कविता कृतिबाट कविता साहित्यमा परिचित बनेका उनले २०६७ मा ‘अचानक यो साँझ’ र २०६९ मा ‘त्रासमा ईश्वर’ कविता संग्रह प्रकाशित गरिसक्दा उनी नेपाली कविता साहित्यमा एक स्थापित कवि बन्न पुगे ।
‘त्रासमा ईश्वर’का लागि साझा पुरस्कार प्राप्त ठाकुरले राष्ट्रिय पत्रकारिता पुरस्कार, मोती पुरस्कारलगायत पत्रकारिता र साहित्य सेवा गरे बापत दर्जनौँ सम्मान र पुरस्कार प्राप्त गरेका छन् । यसले उनको कर्मलाई नेपाली समाज र राज्य समेतले अनुमोदन गरेको देखिन्छ ।
विगत ३ दशकदेखि कविता साहित्यमा समर्पित बेलवासेका यी कविताले पीडाभित्र जीवन खोज्ने गर्छन् भने पीडालाई साहस र शक्तिमा बदल्ने कलासमेत सिकाउँछन् । पत्रकारिता र कविता कर्ममा समानान्तर रूपमा जमेर रमेका बेलवासे वर्तमान पुस्ताका प्रसिद्ध, सशक्त कवि र सञ्चारकर्मी हुन् । पत्रकारिताका कारण धेरै लेखक कविलाई आफ्नो सिर्जनाबाट टाढा बनाएका दृष्टान्तहरू छन् । तर, बेलवासेले दुवै क्षेत्रमा आफूलाई निरन्तर राख्न सफल बनेका छन् ।
अन्य कविता संग्रहमा निकै जटिल बिम्ब र प्रतीक प्रयोग गर्ने कवि बेलवासे ‘चोटहरूको उत्सव’सम्म आइसक्दा उनी सरल बिम्बमा खेलेर गहिरो भावमा डुबेका छन् । ‘चोटहरूको उत्सव’भित्रका कविताहरूले नारीको शक्ति आराधना गरेका छन् । नारीमाथि यी कविताले उच्च सम्मान प्रकट गरेका छन् । कविको दाबी छ– नारी नभएको भए संसार निकै कमजोर हुन्थ्यो । नारी छन् र संसार सुन्दर छ ।
हर मानवको जीवनमा अनिवार्य अनुभूति हो प्रेम, जब प्रेम विपरीत पथमा हिँड्छ, अनि मन, मस्तिष्कमा उत्पन्न परिणाम र जीवनमा व्यहोर्नु परेका चोटहरूका बारेमा कवितामा गहन भाव आएको छ ।
कवितामा प्रेमको दार्शनिक चिन्तन, प्रेमको समाज सास्त्रीय स्वरूपका साथसाथै प्रेमका मानवीय मान्यताहरू विभिन्न धारबाट आएका छन् । त्यसैगरी प्रेममा गरिने जीवन समर्पण नयाँ शिराबाट कल्पना गरिने आशा, उत्साह र उमङ्ग उच्च प्रकारले देखाइएको छ ।
कविता पढ्दै जाँदा लाग्छ, मानव समाजले आजका दिनसम्म माया प्रेमका नाममा भोगेका पीडा कवितामा छन् । र, त्यति मात्रै पनि होइन, ती पीडाका जगमा मानव सभ्यता कसरी पटक पटक चोट संघर्ष पीडाका बिच लडिबुडी गर्दै यहाँसम्म आएको छ, कवितामा प्रस्ट छ । त्यसैका आधारमा भन्न सकिन्छ, बेलवासेका कविता जीवन बाँच्न सिकाउने कविता हुन् ।
यस कृतिभित्रका कवितामा मानव जीवनमा प्रेमको आवश्यकता र सत्यता मिहिन तवरले बुनिएको छ । दुःख कष्ट र पीडामा बाँच्न सिकाउने प्रेमले जीवनको सम्पूर्ण पक्ष बोकेको छ, भन्ने कविताको महत्त्वपूर्ण दर्शन हो ।
कवितामा नारी शक्ति भनौँ मातृ शक्तिमाथि प्रेमका माध्यमबाट ठूलो सम्मान भाव प्रकट गरिएको छ । यसका आधारमा कवि बेलवासे दैनिक जीवनमा सम्पूर्ण जनहरूमा जुन आदर भाव प्रकट गर्छन्, त्यो कविको वास्तविक हृदय कवितामा आएको छ ।
यस संग्रहमा रहेका अधिकांश कविताहरू सुरुमा राजमार्गमा कुदेजस्तो, मूलबाटो दौडिएजस्तो, निरन्तर बगेजस्तो लाग्छ । अझ भनौँ सुन्दर सपना देखेजस्तो लाग्छ । पढ्दै जाँदा कविताको अन्त्यतिर एक्कासि विपरीत खालको परिवर्तन पाइन्छ । खुसीको सुरुआत अन्त्यमा दुःख छ । पाठकहरू प्रत्येक कवितामा नयाँ अनुभूति सहित अगाडि बढ्छन् । अन्त्यमा कवितामा पाठकले आफूले कल्पना गरेको होइन उपन्यासमा हुने समापन पाउँछन् । यो कविको विशिष्ट क्षमता हो भन्न सकिन्छ ।
प्रेमीकालाई दुःखमा बाच्ने आधार तिम्रो व्यवहार भनिएको छ । दुःखलाई सम्झना र दुःखदायीलाई सम्मान कवितामा प्रशस्तै पाइन्छ । संग्रहमा प्रेम र दुःखका बहुरूपी र बहुमुखी कविताहरू छन् । कवितामा संवाद छ । कवितामा कथा पनि छ । बहुसंख्यक कवितामा प्रेमको पीडा छ, तर पनि कवितामा खुसीको उपस्थिति अत्यधिक छ । कवितामा संवाद नौलो प्रयोग लाग्न सक्छ । निकै काव्यात्मक शैलीमा संवादबाट कविता लेखिनु एउटा भिन्न प्रयोग बेलवासेले गरेका छन् ।
कवि बेलवासेले प्रेमी वा प्रेमिकालाई अतुलनीय ठान्छन् । र, संसारका सबै चिज वस्तु र प्राकृतिक गतिविधिभन्दा निकै माथि राख्छन् । ‘तिमी अर्थात् तिमी’ मा कवि यसरी पोखिएका छन् ।
‘तिमीसँग वसन्तको तुलना हुनै सक्दैन’
एउटी प्रेमीकामा कति धेरै शक्ति हुन्छ । उनले प्रेमीकामा भएको शक्तिलाई संसारको सबैभन्दा ठूलो शक्ति मानेर सौन्दर्य शक्ति शीर्षकमा यसरी व्यक्त भएका छन् ।
‘गुलाफ रातो बन्न
तिमीले चुम्नुपर्छ
जून चहकिलो बन्न
तिमी हाँस्नुपर्छ’ पृष्ठ–२८
संसारमा मायामात्रै पनि छैन । संसारमा पीडा मात्रै पनि छैन । संसारमा माया प्रेम भएपछि संसारका सब पीडाहरू फिका फिका लाग्छ ।
मायाबाटै सुन्दर संसार बन्छ भन्ने सत्यमा कवि अडिग छन् । उनले मायाका कारण ओझेलमा परेका धेरै धेरै पीडा कवितामा पेस गरेको छन् । उनी एउटा कवितामा यसरी पोखिन्छन् ।
‘म सम्झन्छु
मायाको तागत कस्तो हुँदो रहेछ
कसरी हार्दा रहेछन् पीडाहरू’ पृष्ठ–३६
अचानक आउने भूकम्पीय परिवर्तनले खुसीलाई दुःखमा परिणत गर्दा कति धेरै पीडाको सगरमाथा बोकेर हिँड्नुपर्छ त्यो पीडकलाई मात्रै थाहा हुन्छ । तर, कविले पीडकको पिडामाथि नुन चुक होइन पीडाको यथार्थता ‘चोटहरूमा’ शीर्षकबाट यसरी भनेका छन् ।
‘पहिलो नै तिमी हौ
मैले आँखा जुधाएर हाँसेको
तिमी नै त पहिलो हौ
मैले मन मुटुका पत्रपत्र खोलेर बोलेको
यति बेला तिमी नै त पहिलो हौ
चोटहरूमा असह्य दुखेको !’ पृष्ठ–४१
कविले अत्यन्तै विशाल मनले जति नै धेरै चोट सहे पनि हाम्रो मौलिक परम्परा ‘ अतिथि देवो भवः’बाट विचलित हुनहुँदैन भनेका छन् । त्यसैगरी प्रेम लेख्य कानुनभन्दा पनि माथि हुनपर्छ भन्ने आशय कवितामा छ ।
प्रेममा भएको अथाह शक्तिमाथि कविता धेरै केन्द्रित छन् । प्रेमबाट मानव जीवन चलाउन र बचाउन सकिन्छ भन्ने विश्वास कवितामा पढ्न सकिन्छ । मनपर्ने मान्छे प्रेमीले जे गरे पनि त्यो न्यायिक लाग्छ । हरेक गतिविधि विशेष र विशिष्ट लाग्छ । प्रेमका नाममा जे हुन्छ, राम्रोकै लागि हुन्छ भन्ने सन्देश कवितामा छन् ।
यी कविताहरू प्रेम भाव, विषय र पृष्ठभूमिबाट सिर्जना गरिएका भए पनि मानव मनका अनेकानेक भावनालाई उत्खनन गरिएको छ । भनौँ न कविताले सामाजिक जीवनका हरेक पक्षमाथि गहिरो दृष्टिकोण राखेका छन् ।
विचलित बन्दै गएको मानव समाजले मानवबाटै जोगिनु पर्ने अवस्था सिर्जना भएको दाबी कविको रहेको छ । अर्थात् मान्छेले मान्छेसँगै जोगिनु पर्ने समयको सामना वर्तमान मान्छेले गरेको छ । स्वार्थ केन्द्रित समाजबाट सिकेर होला सायद कविले अर्को एउटा पत्र शीर्षक कवितामा लेखेका छन् ।
‘मान्छेबाट जोगिनुपर्छ
विपत्ति आफैँ हार्छन्’ पृष्ठ– ८१
भनिन्छ प्रेम सिला पत्रमा लेखिएको जस्तो युगौंयुग अमर हुन्छ । प्रेममा गरिएका बाचा बन्धन र गतिविधि पनि युगौंयुग जीवित हुन्छन् । ती क्रियाकलापहरू प्रेममा फुल्दै फल्दै गयो भने प्रेम युगौँ रच्ने बन्न सक्छ । विगतलाई धिक्कार्ने भन्दा पनि प्रेम गर्नुपर्ने सन्देश कवितामा रहेको छ ।
‘कुनै पेसेवर हत्याराजस्तो
तिम्रो सम्झनाले
न मलाई मार्न सक्यो
न जीवित रहन दियो
कतै मेरो सम्झनाले पनि
तिमीलाई यसै गरी सताएको त छैन ?’ पृष्ठ –८९
सामाजिक, राजनीतिक र धार्मिक विषयमाथि वैचारिक कविता लेख्ने कविको परिचय बनाएका बेलवासेले ‘चोटहरूको उत्सव’सम्म आउँदा प्रेमको विषयमा पनि वैचारिक बनेका देखिन्छन् । उनले कविता मार्फत प्रेममाथि बहस गरेका छन् । प्रेमको नयाँ दर्शन र मूल्यमान्यताको खोजी गरेका छन् ।
कृतिमा ११ वर्ष अगाडि लेखिएको वरिष्ठ कवि तुलसी दिवसको मुख्य मन्तव्य रहेको छ । उनले ठाकुर समकालीन नेपाली कवितामा अब्बल कविका रूपमा प्रस्तुत गरेका छन् । यस्तै, अर्का वरिष्ठ कवि दिनेश अधिकारीले ठाकुरको काव्यकलालाई निकै प्रशंसा गरेका छन् ।
ठाकुरले आफ्नो लेखकीय मन्तव्यमा कविताका केही दाबीसहित ‘चोटहरूको उत्सव’ कविता कृति प्रकाशनको कथा लेखेका छन् । उनले समकालीन कवि छविरमण सिलवालका बारेमा लेखेका कुरा निकै रोचक लाग्छन् ।
चोटहरूको उत्सवमा प्रेमका जम्मा ३८ कविता छन् । जुन कविता मानवीय जीवनका विविध पाटाहरूमा केन्द्रित छन् । कविता साहित्यमा तीन दशक बिताएका ठाकुरले अब कविता लेख्दिन भन्न पाउँदैनन् । यसकारण ठाकुरको कविता लेखनको कर्मले निरन्तर सगरमाथा चुमिरहोस् शुभकामना ।