–विश्वास तिमिल्सीना
‘कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु...’ एकाबिहानै चर्को लाउड स्पिकरमा नेपाली गीतले मेरो निन्द्रा भताभुङ्ग बनाएपछि सिरानीमा रहेको मोबाइल हेर्दा बिहानको ८ बजेको संकेत गर्छ । कोठा नं. १९, एभरेस्ट गेस्ट हाउसको झ्यालको पर्दा हटाउँदै यसो बाहिर चियाउँदा सेतो घामको उज्यालोले सामुन्नेको घण्टाघर र घण्टाघरको छेउमै रहेको आईएमईको, पहेँलो रंगले लिपेको कार्यालय प्रस्ट देखिन्छ । केही मानिसहरूको चहलपहल र आईएमईको ढोका अगाडी राखेको सानो स्पिकरबाट उही गीत बजिरहेको हुन्छ, ‘कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु...।’
आज आइतबार, घण्टाघरको अगाडीको बडेमानको एचएसविसी बैंकको शाखा कार्यालयको भवन, घण्टाघरको दायाँ–बायाँ थुप्रै नेपाली पसलहरू, पसलको सामुन्ने झुन्ड झुन्ड भएर बसेका नेपाली तन्नेरीहरू, हातमा पर्चा बोकेर बसेकाहरू झुन्ड तर्फ पर्चा बाँड्दै बोलाइरहेका छन् । अन्य दिनभन्दा आज कोतरायामा तन्नेरीहरूको चहलपहल ज्यादा देख्दा परदेशको ठाउँ हो जस्तै लाग्दै लाग्दैन । प्लास्टिकले बनेको निलो रङको २ वटा नोट दिएपछि सधैँ गाडीमा कफी बेच्न आउने कालेले कागजको कपमा एक कप कफी दियो । घण्टाघर अगाडीको ठूलो रूखको फेदमा रहेको काठको मेचमा बसेर तातो कफीको सुर्की लिँदै, कहिले थोरै परबाट बगिरहेको कलाङग नदी त कहिले गफिँदै हिँडेका तन्नेरीहरूलाई देख्दा परदेशको ठाउँ जस्तो लाग्दै लाग्दैन । आईएमई छिरेका केही जवानहरूलाई हेर्दै, कफीको अन्तिम चुस्की लिँदा लाग्यो कोतराया जवान हुँदै थियो भने त्यही स्पिकरबाट अर्को गीत बज्दै थियो – सालको पात टपरी हुने नहुने सल्लैको...।
मलेसियामा ठुला–ठुला गगन चुम्बी भवन, फराकिलो चिल्ला चिल्ला गाडी कुद्ने सडक, सुपर मार्केट, के के हो के के... । पैसा हुनेले सपनासम्म किन्न पाउने देश, फगत नेपालीको लागि भने बाध्यता, विवशता र दुःखको खाल्डो, छिर्न सजिलो निस्कन मुस्किल । नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य मलेसियामा बर्सेनि लाखौँ नेपालीहरू विभिन्न किसिमका कामदारका रूपमा छिर्ने गर्दछन् । अरबौँ डलर वार्षिक रेमिटेन्स पठाई रहेको श्रम गन्तव्य मलेसियाको अर्को निकै भयावह पाटो हो, बर्सेनि बाँडिरहेको नेपालीहरूको मृत्युदर । वार्षिक औसत ३५० जना नेपाली युवाहरूले विभिन्न कारणबाट ज्यान गुमाइरहेका छन् ।
धेरै नेपालीहरू कामदारहरू नेपालीबाटै पनि ठगिने गरेका छन् । अवैध मानिएका विभिन्न किसिमका कार्यहरूमा समेत नेपाली कामदारहरूको संलग्नता रहेको पाइएको छ, हुन्डी, नक्कली सामान तथा रक्सीको व्यापार, लागु पदार्थ ओसारपसार, लुटपाट तथा झैझगडा, चोरी आदी । अन्य देशको कामदारको तुलनामा नेपाली कामदारहरूको परर्फरमेन्स उच्च तथा प्रायः नेपाली कामदारहरू बलिया तथा इमानदार हुने कारणले गर्दा रोजगारदाताहरूको रोजाइमा समेत पर्ने गरेका छन् ।
कलाङग नदिको बिचमा रहेको मस्जिद जामेकबाट आएको प्राथनाले सोचिरहेका बेला झसङ्ग भएँ । घण्टाघरको घडीले बिहानको ११ बजाई सकेको रहेछ । मेरो पनि आज फुर्सदको दिन खाना खाने भनेर लागेँ सधैँ खाना खाने रेस्टुरेन्ट तिर । आईएमई तथा पसलहरूमा चहलपहल बाक्लै थियो । छुट्टीको दिन भएकोले होला प्रायः सबै टेबल भरिभराउनै थिए । तन्नेरी र कुनै टेबलमा तरुनीहरू पनि । मःम प्राय सबैको टेबलमा । सँगै, कोही मासु भात खाँदै थिए त कोही सुकुटीसँग तिन पाने अनि तिन पानेसँगै निस्केका रमाइला गफहरू । अर्को टेबलको तरुनीलाई हेर्दै तिन पाने स्ववाट पारी मुख मिठाउने पनि देखिए ।
“भाइ बस्नुस् न, आज त चिया खान पनि आउनु भएन”, होटेलका साहुजीले हाँस्दै सोधे । हेर्नू न आज कस्टमरहरू धेरै भएकाले एक छिन फुर्सद भएन । किचनदेखि टेबलसम्म हेर्न परेको छ । चिया खाने कि खाना नै खाने ? खादा खानाको अर्डर लिएर किचन तिर लागे साहुजी ।
“यार कति बस्ने यो मलेसियामा ६ साल भएछ, आएर घर नगएको । पैसा पनि खासै कमाइएन । एम्बेसीबाट जान मिल्छ रे अर्को महिना जाने सोचमा छ । गाउँमा नै केही गर्न पर्ला यार, पुग्यो विदेश पनि...”, एक पेगसँगै एउटा तन्नेरी बोल्यो ।
“सँगै आएका साथीहरू कता–कता पुगे, एउटा त आँखै अगाडी डेंगुले मर्यो पनि यार, भो जसरी नि जान्छु यसपालि । साहुजी एउटा अर्को दिनु त ...।”
“भाइ खाना”, टेबलमा खाना राख्दै सामुन्ने भएर बसे साहुजी । “धेरै नपिउनु है भाइहरू भोली डियूटी गर्न गाह्रो होला फेरि”, तन्नेरी लाई इसारा गदै चिच्याए साहु । चिसो हात रुमालले पुछ्दै टेबलमा के बसेको थिएँ दुई जना साथीले सहारा दिँदै एउटालाई समातेर निस्किए तन्नेरीहरू । “बिस्तारै जानु, फेरि फेरि पनि आउनु है भाइहरू ।” “हस्” भन्दै छाया परे तन्नेरीहरू ।
“नेपालीले खान जान्दैनन्, रुम पनि पुग्छन् कि पुग्दैनन् ?” साहुजी मनमनै बोले । दिउँसोको दुई बजे उखरमौलौ गर्मी रहेछ बाहिर । सायद चाडै पानी पर्छ होला । कोतरायामा तन्नेरीहरूको भिडभाड नै छ । कोही लगेज घिसार्दै छन्, कोही गफिँदै छन्, कोही हल्लिँदै हिँडेका छन्, मानौँ बाटो सबै तिनीहरूकै हो । पर्स, बेल्ट, अत्तर, पानी बेच्नेहरू तन्नेरीको पछि पछि छन् । घण्टाघरको सुई आफ्नै तालमा चलिरहेको छ । त्यस्तै चलिरहेका छन् तन्नेरीहरू । न तन्नेरीहरूलाई घण्टाघरको सुईको तालको प्रवाह छ, न त कोतरायाको घण्टाघरलाई तन्नेरीहरूकै...।