–सत्यजीत
घाम झुल्किन्छ,
र म सोच्न थाल्छु–
किन सूर्यलाई पनि पानी चढाइन्छ ?
के ऊ रिसाउँछ, यदि उसले त्यो नपायो भने ?
कि हामी डराइरहेका छौँ–
कसैले बुनिदिएको मिथकको चस्माभित्र ?
चण्डाल छोइँदैन,
तर सुनको छत्र तिनकै हातले बनेको हुन्छ ।
देवता नाङ्गा छन् मन्दिरमा,
भक्तजन भोकै छन् बाहिर ।
गो–माता पूजा गरिन्छ,
तर विदेशमा मासु बनेर बेचिन्छ ।
श्रद्धा हो यो ?
कि संस्कारको नाममा व्यवस्थित पाखण्ड ?
धर्म– जसले शून्यता सिकाउँथ्यो,
अब बोटबिरुवा र ढुंगामा बन्दी छ ।
बुद्ध– जो पाटीमुनि ध्यान गर्थे,
आज स्वर्ण मन्दिरमा सुनको पिँजडामा छन् ।
ध्यान अब साधना होइन,
सेवा होइन–
प्याकेजमा बिक्ने शान्तिको पसल हो ।
अल्लाह एकै हो,
तर फिरेकाहरू सयौँ ।
शरीरको व्याख्यामा
छुरी चल्छ, ज्ञान होइन ।
आजै हत्या गरिन्छ–
भोलि जानाजामाको आउनेछ भनेर ।
क्रसमा झुन्डिएका येशू
अब चर्चको चन्दामा थुनिएका छन् ।
‘लब द नाइबर’ भन्दाखेरि
मिसाइल टाँगिएको नक्सा देखिन्छ ।
पाप क्षमा–
अब टिकटको मूल्यमा बन्छ ।
फ्रेन्चाइजी चर्च खुल्छ,
‘होली वाटर’ लेबलसहित ।
म हेर्छु–
चारै धर्ममा एउटै व्यापार छ–
मानव विवेकको ।
र म पुकार्छु–
हे भारी !
कसरी सहन्छौँ यति पाखण्ड ?
कहिलेसम्म बोकिने ?
कुन युगमा विसर्जन हुने ?
शिक्षाको सहारा लिनेछौँ,
चेतनाको चेतले बिझाउनेछौँ–
र फालिदिनेछौ हामी
पुर्खाले चढाएको
यो पाखण्डको पुरानो भारी ।