२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

तत् समयका आमाहरू

shivam cement
२०८२ असार २१ गते ०६:१५
तत् समयका आमाहरू

–रसुवाली कवि 

वामपन्थी वृत्तमा साहित्यमा रुचि राख्ने थुप्रै राजनीतिज्ञ छन् । मूलतः एमाले पृष्ठभूमिका प्रदीप नेपाल (सन्जय थापा), मोदनाथ प्रश्रित, प्रदीप ज्ञवाली (शीत बिन्दु)हरूले प्रगतिशील साहित्यमा उल्लेखनीय योगदान दिएका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रगतिशील साहित्यमा रुचि राख्ने र रोचक शैलीमा लेख्न सक्ने एक जना नेता र लेखक हुन् । उनको हालै एउटा संस्मरणात्मक पुस्तक प्रकाशित छ– आमा, सपना र ताराहरू ।

मैले आमा, सपना र ताराहरू असारको मुसलधारे पानी परेको दिनमा पढेको थिएँ । देशमा राजनीतिक सन्दर्भमा अनेकौँ विषयहरू चर्चामा थिए । ईश्वर पोखरेलको अभिव्यक्ति पनि चर्चामा थियो । मैले भने यो आमा, सपना र ताराहरूलाई नेता ईश्वर पोखरेलको कृतिका रूपमा नभै साहित्यकार ईश्वर पोखरेलको कृतिका रूपमा पढेँ । आफ्नो समयको हैरानी, पीडा, सकस, दर्द, धरपकड र क्रान्तिकारी आन्दोलनको कथालाई रोचक निबन्धात्मक शैलीमा लेखिएको छ यस कृतिमा ।

यस कृतिको केन्द्रमा ईश्वर पोखरेलकी ममतामयी आमा हुनुहुन्छ । ओखलढुङ्गाको कुनै ग्रामीण भेगकी ती आमाले भोगेको दुःखको महाभारत पढिरहँदा तपाईँको मन भावुक बन्छ, आँखा रसाउँछ, मनको कुनै कुनामा भूकम्प जान्छ । साहित्य भावुकता र विचारसँगै जोडेर लैजानु जरुरी छ । यो कृतिमा त्यो खालको संयोजन भेटिन्छ ।

१२ सन्तानकी ती आमाले कसरी सन्तान हुर्काउनुभयो ? कसरी त्यो पहाडजस्तो जिन्दगीलाई हरियाली बनाउनुभयो ? कसरी यो डरमर्दो जिन्दगीलाई सहजरूपमा बाँच्नुभयो/जिउनुभयो ? दुई दशक लामो भूमिगत संघर्ष गरेका ईश्वर पोखरेलको संघर्षभन्दा कम थिएन आमाको संघर्ष पनि । त्यो समयका आमाहरूले गरेको संघर्ष आफैँमा क्रान्तिकारी संघर्ष थियो । ईश्वर पोखरेलको आमाको संघर्ष पनि त्यही स्तरको संघर्ष थियो ।

सामन्ती समाजमा महिलाहरूको स्थान सम्मानजनक हुँदैन । सामन्ती समाजले पितृसत्तात्मक राग अलाप्ने हुँदा नारी जातिले चुलोचौको, खेतखलिहानमा सीमित हुनुपर्ने स्थिति बन्छ । धार्मिक, सांस्कृतिक, राजनीतिक, सामाजिक हिस्साहरूबाट नारी जातिलाई कमजोर पारिन्छ । दोस्रो दर्जाको भाष्य पितृसत्ताको भाष्य हो ।

ईश्वर पोखरेलकी आमाले छोराछोरी सानै हुँदा श्रीमान् गुमाउन पुग्नुभयो । सन्तानको मायाका निम्ति उहाँले थुप्रै संघर्ष गर्नुभयो । एउटी बिधुवा महिलाले ग्रामीण नेपाली समाजमा कुन हदसम्मको पीडा भोग्नुपर्छ, ईश्वर पोखरेलको स्मरण आमा, सपना र ताराहरूमा यसको मार्मिक बयान छ ।

‘एक दिनको कुरा हो, बा दम बढेर हिरिक्कै हुन थाल्नुभयो । घाम पश्चिमी क्षितिजमा हराउँदै थियो, साँझ भुईँमा झर्दै थियो । वस्तु भाउ बाँधेर बाख्रापाठा खोरमा थुनिसकिएको थियो । एक्लो घर, साँझको समय, सहयोगका लागि छिमेकबाट कसैलाई बोलाउन पनि सम्भव थिएन । यत्तिकैमा आमाले एउटा ठूलो तर बलियो डोकोमा नाम्लो मिलाउनुभयो र बालाई ओखलढुंगाका वैद्य कहाँ लैजान रुम्जाटार बास बस्ने गरी हिँड्ने तयारी गर्नुभयो ।’

(आमा, सपना र ताराहरू, पृष्ठ ३५)

यो एउटा अनुच्छेदले तत्कालीन समाजको यथार्थ बोल्छ । ईश्वर पोखरेलका बुबा दमले ग्रस्त छन् । गाउँमा स्वास्थ्य चौकी छैन । सरसहयोग गर्ने छिमेकी छैनन् । एउटी ग्रामीण नारी डोकोमा श्रीमान्लाई बोक्नेसम्मको हिम्मत गर्छिन् । यो चानचुने हिम्मत होइन । मलाई लाग्छ, सिङ्गै ग्रामीण अर्थतन्त्रको भारी बोक्ने आमाहरू तत्कालीन मालेका भूमिगत नेताहरूभन्दा कम महत्वका थिएनन् । ईश्वर पोखरेलकी आमा तिनै अब्बल नारी हुन्, जो हरसंघर्षमा थाक्नुभएन । संघर्षलाई जीवनको लक्ष्य मानेर हिँड्नुभयो ।

हरेक युगको क्रान्तिकारी भारलाई श्रमजीवी वर्गले आफ्नै बुताअनुसार बोक्दै आए र इतिहासमा सबैभन्दा सम्मानित वर्ग श्रमजीवी वर्ग नै बन्यो । जित्नेहरूका पक्षमा लेखिएको इतिहासमा हार्नेहरूको कथा उल्लेख नभए पनि इतिहासको त्यो अध्याय ज्युँदो छ । आमा, सपना र ताराहरूमा ईश्वर पोखरेलले आफ्नी आमाको कथामार्फत तत्कालीन समयको यथार्थ चित्र कोरेका छन् । निःसन्देह यो प्रगतिशील साहित्यका लागि एउटा उपलब्धि हो । कला, शिल्प र भाषाका हिसाबले पनि यो कृति अब्बल छ ।

दर्जन सन्तानमध्ये कान्छा सन्तान हुन्, ईश्वर पोखरेल । आमाको सपना थियो– कान्छो छोरालाई पढाई गुनाइ असल र ठूलो मान्छे बनाउने । त्यही सिलसिलामा ईश्वर पोखरेल पहाडी गाउँ ओखलढुङ्गाबाट अध्ययनको सिलसिलामा जनकपुर आइपुगे । सानैदेखि प्रगतिशील स्वभावका ईश्वर बिस्तारै–बिस्तारै क्रान्तिकारी आन्दोलनका मोर्चाहरूमा देखिन थाले । एउटा सानो विद्यार्थी केटो ईश्वर सडकमा नारा लगाउँदालगाउँदै पक्राउ परे । माओले बुर्जुवा शिक्षालाई इंगित गरेर भनेको– जति ज्यादा पढ्छौ, त्यति ज्यादा मूर्ख हुन्छौ... जस्ता उद्धरणले उनलाई छुन थाल्यो । बीएड पढ्दै गर्दा उनीसँग घनिष्ठ साथी बने पूर्वका मेधावी क्रान्तिकारी नेता रत्नकुमार बान्तवा । ईश्वर पोखरेलले रत्नकुमार बान्तवाको सम्मानमा एउटा किताब लेखे– पूर्वको रातो तारा । केही समयअगाडि निस्केको यो पुस्तक पठनीय रहेको छ । बान्तवासँग उनले युवावयका थुप्रै संघर्षहरूमा भाग लिए ।

आफ्नो क्रान्तिकारी आदर्शप्रति निर्भीकतासाथ लडे रत्नकुमार बान्तवा । पूर्वमा कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन उनको खास योगदान रह्यो । आजको दिनमा स्वयम् माले÷एमालेले उनका सपनाहरूलाई कति सम्मान गर्छन्, त्यो फरक विषय रह्यो । तर, कमरेड बान्तवा पूर्वमा चम्किलो रातोझैँ चम्किरहेकै छन् । यस पुस्तकमा बान्तवाको प्रसङ्ग ठाउँ–ठाउँमा आएको छ ।

एक ठाउँमा ईश्वर लेख्छन्– ‘म त्यस बेला पढाइ छाडेर पाएका सर्टिफिकेटहरू, नागरिकता प्रमाणपत्र, आफूसित सम्बन्धित सुन्दर तस्बिरहरूसमेत च्यातेर क्रान्तिकारी बाटोमा लाग्ने संकल्पसाथ हिँडिसकेको थिएँ ।’ (आमा, सपना र ताराहरू, पृष्ठ ६३)

प्रारम्भमा ईश्वर पोखरेलको भूमिगत जीवनप्रति आमाको खासै सहमति देखिँदैन । छोरो यसरी लुकी लुकी किन हिँडेको होला जस्तो भाव आमामा देखिन्छ । आमाले यो कुरा खासै व्यक्त गर्नुभएन । बिस्तारै बुझ्दै गएपछि आमाको पनि सहमति हुँदै गयो । ईश्वर पोखरेलको जुन राजनीतिक व्यक्तित्व बन्यो, त्यो आमाकै कारण सम्भव भएको रहेछ भनेर यो कृति पढ्दा थाहा लाग्छ ।

बुबाको माया नपाएका टुहुरा हुन् ईश्वर । बुबाको माया नपाउनु मानिसको जीवनको ठूलो दुःख हो । बुबा–आमाकै माया र ममता दिएर आमाले उनलाई हुर्काउनुभएको हो । एउटा छोराको जीवनमा यो अतुलनीय विषय हो । आमाको ममताको तुलना गर्नु शोभनीय विषय हुँदै होइन ।

आमा, सपना र ताराहरू मूलतः ईश्वर पोखरेलको आमासँग सम्बन्धित स्मरण हो । अर्को अर्थमा संवेदना पनि भन्न सकिन्छ । कृति पढिरहँदा ईश्वर पोखरेलको राजनीतिक जीवनको आरोह–अवरोहको तस्बिर पनि आउँछ । निरंकुश व्यवस्था विरोधी आन्दोलनमा निम्नमध्यम वर्गको परिवारका ईश्वर कसरी सहभागी भए, कस्ता धरपकड र यातना झेले ? प्रतिकूल राजनीतिक–आर्थिक–सांस्कृतिक परिवेशमा उनले कसरी शिक्षा हासिल गरे ? कसरी भूमिगत जीवनलाई पार गरे इत्यादि विषयका प्रसङ्गहरू पुस्तकमा आएका छन् । माझिएको भाषा र भावुक शैलीमा लेखिएको निबन्ध भएकाले पाठकको मन चसक्क पार्छन् यस कृतिभित्रका धेरैजसो निबन्धहरूले ।

उमेर ढल्कँदै गएपछि आमामा पिरोलो पनि बढ्दै जान्छ । बुढ्यौलीमा छोराछोरीले नहेर्ने हुन् कि भन्ने चिन्ता उहाँमा देखिन्छ । जीवनमा बुहार्तन, घरधन्दा र छोराछोरीको जिम्मेवारीले सधैँ सताउँदा पनि आमा माइतीसम्म जान पाउनुभएन, तर त्यतिबेला आमालाई कुनै गुनासो भएन । तर, जीवनको एउटा अध्यायमा आइपुगेपछि उहाँमा पिरलो रहेको प्रसङ्ग पुस्तकमा देखिन्छ । सायद कमजोर मान्छेलाई नै पिर धेरै लाग्छ । ईश्वर पोखरेलकी आमालाई त्यस्तै कमजोरीले पिरको सिर्जना गरेको हुनुपर्छ ।

जीवनको उत्तराद्र्धमा आमाले आँखा दान गर्नुभएको प्रसङ्ग पुस्तकमा रहेको छ । यो आमाको उच्च चेत हो ।

कतिपय ठाउँमा एउटै विषय दोहोरिएको पनि छ । यो अर्को संस्करणमा सच्याउन जरुरी छ । सिलसिलाहरूलाई अलि व्यवस्थित गरेर लेख्दा सुनमा सुगन्ध हुन्थ्यो कि ?

एउटा समयको तस्बिर आउने गरी यो पुस्तक आएको छ । यो आमाको ममताको सम्मानमा लेखिएको कृति हो । यो आमाको संघर्षका पक्षमा लेखिएको कृति हो । यो पितृसत्तात्मक समाजको यथार्थ देखाइएको कृति हो । यो कृतिले ग्रामीण आमाहरूको जीवन्त कथालाई बोल्छ । निश्चय नै एउटा पठनीय कृति हो । आमाहरूका पक्षमा नेपाली साहित्यमा धेरैभन्दा धेरै निबन्धहरू लेखिए पनि आमा, सपना र ताराहरूले एउटा बेग्लै स्थान बनाएको छ ।

अन्तिममा ईश्वर पोखरेलले लेखेको ‘आमा’ शीर्षकको कविताको अंशसहित लेख बिट मारिन्छ :

मैले रुँदा 
पीडा पोख्न ‘आमा’ भनेँ !

अभावमा 
आवश्यकता पूरा गर्न ‘आमा’ गुहारेँ !

यातना र पीडामा 
भक्कानिएर रुँदा ‘आमा’ सम्झेँ !
(आमा, सपना र ताराहरू, पृष्ठ १३९)

ADV

सम्बन्धित खबर

Advertise