दोहा, कतार : हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज पर्वलाई लक्षित गर्दै तिज विशेष गीतहरू सार्वजनिक हुन थालेका छन् । वैदेशिक रोजगारीका लागि हाल दक्षिण कोरियामा रहेका पर्वेतेली सर्जक प्रमोद भुसालको शब्द तथा संगीतमा ‘लौ न शिवजी कोई चाहियो’ बोलको गीत सार्वजनिक भएको छ ।
पछिल्लो समयकी चर्चित गायिका शान्ता रानी परियारले आवाज दिएको गीत बिहीबार बाबा इन्टरटेन्मेन्ट टिभी च्यानलबाट सार्वजनिक भएको छ । एउटा उमेर पुगेकी युवतीले तिजमा ब्रत बस्दा के कस्ता कुराहरूको बर शिवजीसँग माग्छिन् भन्ने कुराहरू गीतले बोल्छ । सञ्चिता बोलाखे लुइँटेलको आकर्षक नृत्य रहेको म्युजिक भिडियोमा प्रदीप भुसाल फिचर्ड छन् ।
उक्त गीतको भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् । पछिल्लो समय नेपाली गीत संगीतमा मौलिकपन पाउन निकै कठिन पर्न थालेको अवस्थालाई आफ्नो गीतले चिर्ने सर्जक भुसालले बताए ।