काठमाडौंः वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका–५ घर भएका ५० वर्षीय मोतीसरा खत्री रहेका छन् ।
पक्राउ मध्ये अर्जुन र रूपेशले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३५ लाख रूपैयाँ तथा मोतीसराले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ नगरपलिका–८ बाट र रूपेशलाई काठमाडौं महानगरपालिका–१२ बाट बुधबार तथा मोतीसरालाई काठमाडौं महानगरपालिका–१३ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।