२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

‘कोशेढुंगा’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

Nada
२०८२ वैशाख ११ गते १७:३८
Shares
‘कोशेढुंगा’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं : चलचित्र ‘कोशेढुंगा’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले बिहीबार फर्स्टलुकका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो ।

ncell

भदौ १२ गते रिलिज हुने चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ ।

उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । केही समय अगाडि छोडेर हिँडेको जस्तो घर देखिन्छ । आँगनमा देखिएको झारले यो अनुमान लगाउन सकिन्छ । तर, घर छोडेको धेरै भएजस्तो देखिँदैन ।

घर, पहाडमा बस्ने धनी व्यक्तिको जस्तो देखिन्छ । केही समय छोडिएको घर पुनः फर्किएर बस्नेगरी गएको हो कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

बादलको घुम्टोमुनि पहाड, पहाडको फेदीमा रहेको घर, घरको आगनमा भर्खरै सहरबाट फर्किएकी एक नवविवाहित महिलाले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, सिनेमाको कथाबारे निर्माणपक्षले केही बताएको छैन । “पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको छ । यसलाई अहिले यतिमै सीमित गरौँ,” ‘कोशेढुंगा’का निर्देशक सरोज पौडेलले भने, “अलिकति बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौँ ।”

चलचित्र ‘कोशेढुंगा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ ।

महिलाप्रधान चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ । सिनेमाका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ । सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाख भन्दा बढी ग्रसकलेक्सन गरेको थियो । त्यसैले उनले निर्देशन गरेको यो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा चासो छ ।

यो चलचित्र नेपालसँगै विश्व बजारमा एक साथ प्रदर्शनमा आउने छ निर्माणपक्षले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर