२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

Nada
२०८१ असार १२ गते १०:००
Shares
लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

लमजुङ : लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । 

ncell

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।  रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् । 

क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गए राति २ः३० बजे पहिरो गएको हो । राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उनले जानकारी दिए । सडक अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष जमिमाया गुरुङलगायतको टोली उद्धारको पहलमा लागि घटनास्थलमा जाँदै गरेको उनले बताए  ।  

स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन् । “पानी बेस्सरी परिरहेको छ, पहिरो गएको ठाउँमा जान सकिएको छैन”, उनले भनिन्–“प्रहरी चौकी मालिङबाट दुई प्रहरी राति नै उद्धारका लागि आउनुभएको छ, श्रोतसाधनको अभावले पहिरो पन्छाउन सकिएको छैन ।” सो ठाउँमा ६ वटा घर रहेका छन् । तीन घर भने पहिरोबाट जोगिएका छन् । 

ताजा खबर

सम्बन्धित खबर