२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

Nada
२०८१ माघ १ गते १०:३३
Shares
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा यी दुई जिल्लामा पछिल्लो वर्ष विषादीको खपत तथा प्रयोगमा कमी आएको उल्लेख गरिएको छ ।
 
कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी आएको छ । दवाडीद्वारा प्रस्तुत प्रतिवेदनमा आव २०८०/८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक धुलो/दानादार विषादी १० हजार पाँच सय किलोग्राम, तरल विषादी नौ हजार लिटर, ढुसीनाशक धुलो–दानादार ३८ हजार एक सय किलोग्राम, तरल विषादी १० हजार ३० लिटर, झारनाशक धुलो–दानादार तीन हजार पाँच सय किलोग्राम, तरल विषादी चार हजार तीन सय लिटर खपत भएको उल्लेख गरिएको छ ।
 
यस्तै जैविक विषादी धुलो–दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो–दानादार विषादी दुई सय ५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा भने काभ्रेपलाञ्चोकमा धुलो/दानादार विषादी ५६ हजार एक सय ६० किलोग्राम र तरल विषादी २८ हजार नौ सय ६४ लिटर प्रयोग गरिएको थियो ।  

ncell

यसैगरी सिन्धुपाल्चोकमा आव २०८०/८१ मा किटनाशक धुलो/दानादार विषादी चार हजार चार सय पाँच किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलो/दानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार तीन सय २५ लिटर, झारनाशक धुलो/दानादार आठ सय किलोग्राम, तरल विषादी एक हजार नौ सय २० लिटर विषादी खपत भएको जनाइएको छ । यस्तै जैविक विषादी धुलो/दानादारतर्फ चार सय किलोग्राम, तरल विषादी नौ सय १५ लिटर र अन्य धुलो/दानादार विषादी दुई सय ५० किलोग्राम र तीन सय १२ लिटर तरल विषादी खपत भएको थियो ।
 
अघिल्लो आव २०७९/८० मा भने सिन्धुपाल्चोकमा धुलो/दानादार विषादी २३ हजार एक सय ७५ किलोग्राम र तरल विषादी १५ हजार सात सय ७० लिटर खपत भएको थियो । प्रतिवेदनमा अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दुवै जिल्लामा केही मात्रामा झारनाशक धुलो/दानादार विषादी प्रयोग बढेको जनाइएको छ । 

कार्यालय प्रमुख दवाडीले पछिल्ला केही महिनादेखि तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी दुवै जिल्लाका सरोकारवालासँग संयुक्त छलफल गरेका कारण पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको दाबी गरे । “यस्ता छलफललाई निरन्तरता दिँदै गइनेछ, चालु आवमा पनि बितेको आवझै विषादी प्रयोगमा कमी भएको तथ्याङ्क प्रस्तुत गर्न सकियोस् भन्ने अपेक्षा गर्दैछौँ”, उनले भने । 

सम्बन्धित खबर