२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

ओली लक्षित कविताबाट भीम रावलले सुरु गरे पत्रकार सम्मेलन

आफू राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा झण्डा उठाउन अग्रसर भएको जिकिर 

Nada
२०८१ पुष १७ गते १४:०४
Shares
ओली लक्षित कविताबाट भीम रावलले सुरु गरे पत्रकार सम्मेलन

काठमाडौँ : एमालेबाट निष्काशनमा परेका भीम रावलले आफू राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा झण्डा उठाउन अग्रसर भएको बताएका छन् । 

ncell

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको बताए । उनले आफू राष्ट्रियताको हितको पक्षमा अघि बढ्न लाग्दै गर्दा साथ दिन सबै पक्षलाई आह्वान गरे ।

पत्रकार सम्मेलन उनले कविताबाट सुरुवात गरेका थिए । कवितामा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् ।
 
लुब्ध नाइके 

सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ?
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि !
तथ्य र सत्य घोच्दछ तिम्लाई,के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन 
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ? 
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ । 
चामल र ढुङ्गा उस्तै हो भन्छौ स्वार्थको बगरमा 
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा 
भनन भन, तृप्ति तिम्लाई कहिले हुने हो 
भ्रष्ट आचार बेलगाम कृते असैह्य हुने भो 
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ।
पाखण्ड तन्त्र, अवसर तन्त्र  अव त धेरै पो
यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौ 
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क गर्दछौ । 
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ 
शक्तिको उन्माद सबैलाई अव खर्लप्प खानेछ ।

पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेको बताएका छन् । कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरुलाई उनले धन्यवाद दिएका छन् । 

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद ।’

रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर