२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन् : प्रधानमन्त्री

shivam cement
मध्यान्ह
२०८१ पुष ३ गते १६:१४
सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस–कसका के–के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरूले नयाँ सरकार बनाएको स्पष्ट पारे ।

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ । हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरू छन्’, प्रधानमन्त्री ओलीले भने ।

कांग्रेस र एमाले पुराना पार्टी भएकाले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएको उल्लेख गर्दै यनले राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएको बताए ।

‘हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ’, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकता घुणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागि पर्ने बताए ।

असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुख हुन सक्दैन र सुखी हुन असमानता र छूवाछूत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरूले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको जनाए ।

‘मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मँदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन’, प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिए ।
 

ADV

सम्बन्धित खबर

Advertise