२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

भैरहवाबाट श्रम गन्तव्य पुग्ने आशा धुमिल

Nada
२०८१ मंसिर २४ गते ०६:२५
Shares
भैरहवाबाट श्रम गन्तव्य पुग्ने आशा धुमिल

काठमाडौं : सरकारले भैरहवा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट  वैदेशिक रोजगारीमा जान सक्नेगरी श्रम स्वीकृतिका लागि आवश्यक संयन्त्र विस्तारको तयारी गरिएका बेला कतार एयरवेजले उडान रोकेको छ । भैरहवाबाट सिधै उडानको व्यवस्था मिलाउन गत हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिह भण्डारी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र अन्य सरोकारवालाबीच  छलफल भएको थियो ।

ncell

छलफलमा भैरहवामा म्यानपावर कम्पनी, स्वास्थ्य संस्था, सामाजिक सुरक्षा कोष, अभिमुखीकरण तालिम प्रदायकलगायत आवश्यक सबै संयन्त्र स्थापित गर्ने सहमति भएको थियो । तर, कतार एयरवेजले ३८ पटकको उडानपछि आइतबार ३९औं  उडान नगर्दा अन्य यात्रुसहित मुख्य गरेर वैदेशिक रोजगारीमा जाने तथा फर्किने कामदारमार्फत उक्त विमानस्थल संचालन गर्ने सरकारी योजनामा धक्का पुग्न सक्ने कतिपयले अनुमान लगाएका छन् ।

सरकारले नै भैरहवा तथा पोखराबाट उडान भर्न वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि आवश्यक संयन्त्र विस्तार गर्ने बताएको छ । तर, सहमतिअनुसार सबै पक्षले भैरहवामा आफ्ना शाखा संयन्त्र लैजान आलटाल गरिरहेका स्रोतले बतायो ।

गत कात्तिक दोस्रो सातादेखि कुवेतको जजिराले कुवेत–भैरहवा,  कतारको कतार एअरवेजले दोहा–भैरहवा–काठमाडौं र संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं उडान गर्न थालेपछि राजधानी, तराई र नारायणी नदीपारिका तराई तथा पहाडी जिल्लाबाट वैदेशिक रोजगारीमा ओहोरदोहोर गर्ने कामदारको लागत घट्ने र उनीहरूलाई राहत पुग्ने भन्दै सबैले खुसी व्यक्त गरेका थिए ।

हाल नेपाली कामदार वैदेशिक रोजगारीमा जाने मुलुकका भिसा सेन्टर काठमाडौंमा मात्र केन्द्रिकृत छन् । काठमाडौं आएर श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा गरेर कामदारलमई पुनः भैरहवा पु¥याएर उडाउने गरिएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गर्न उडान समय १० घण्टा कटौती गरिएको छ ।

त्यसपछि कतार एयरवेज, फ्लाई दुबई र जजिरा एयरलाइन्ससहित थाई एयर भैरहवा गएका थिए । हिमालय एअरलाइन्सले केही उडान भरेर सेवा बन्द गरेको थियो । हाल श्रम मन्त्रालय र पर्यटन मन्त्रालयले श्रम स्वीकृतिका सबै संयन्त्र भैरहवा लगेर उक्त विमानस्थल संचालन गरिछाड्ने अडानमा देखिन्छन् । 

तर, त्रिभुवन विमानस्थलको मर्मतको काम सकिएपछि  भैरहवाबाट उडान नभरी विगतमा जस्तै काठमाडौंबाट नै उडान भर्ने आशंका छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठ भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि चाहिने पूर्वाधार तयारीमा लगानी भएको नदेखिएकाले उक्त विमानस्थल संचालन गर्न सहज नभएको बताउँछन् । श्रम मन्त्रालयले भने आगामी २ महिनाभित्र श्रम स्वीकृतिका सबै काम भैरहवाबाटै हुने प्रबन्ध मिलाउन जुटेको बताएको छ ।

तर, त्यसअघि नै अन्तर्राष्ट्रिय उडान स्थगन भए भने वैदेशिक रोजगारीमा जाने कामदार विगतमा जस्तै काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त नहुने टिप्पणी गरिएको छ ।

सम्बन्धित खबर