२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

७ प्रदेशका ७ उद्यमी सम्मानित, आन्तरिक रोजगारीले मात्र वैदेशिक रोजगारी कम हुन्छ : मन्त्री भण्डारी

Nada
२०८१ मंसिर २२ गते ०६:३५
Shares
७ प्रदेशका ७ उद्यमी सम्मानित, आन्तरिक रोजगारीले मात्र वैदेशिक रोजगारी कम हुन्छ : मन्त्री भण्डारी

काठमाडौं : सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट व्यवस्थापन र अभ्यास गर्ने ७ प्रतिष्ठानलाई सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले ७ प्रदेशका ७ वटा उद्योग तथा प्रतिष्ठानलाई सम्मान गरे ।

ncell

आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट एवं अनुकरणीय कार्य गर्ने सातै प्रदेशबाट १÷१ वटाका दरले ७ वटा उद्योग, प्रतिष्ठानलाई सम्मान गरिएको हो । कोशी प्रदेशको सूर्य नेपाल प्रा. लि., मधेश प्रदेशको ब्रिटानिया नेपाल प्रा. लि., बाग्मती प्रदेशको युनिलिभर नेपाल प्रा. लि., गण्डकी प्रदेशको सूर्य नेपाल प्रा.लि., लुम्बिनी प्रदेशको राज ब्रुअरी प्रा. लि., कर्णाली प्रदेशको सिद्धार्थ शनि रिसोर्ट र सुदूरपश्चिम प्रदेशको वेस्टर्न फिड प्रा.लि. सम्मानित भएका हुन् ।

यी उद्योग तथा प्रतिष्ठानले आफ्नो कार्यस्थलमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गरेका भन्दै मन्त्रालयले सम्मानित गरेको जनाएको छ । त्यस अवसरमा मन्त्री भण्डारीले कार्यक्षेत्रमा श्रमिकको शारीरिक, मानसिक र सामाजिक कल्याणको संरक्षण र व्यवस्थापनले उद्यमशीलता विकासमा दीर्घकालीन रूपमा सघाउ पुग्ने बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्रममा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भएको भन्दै वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउन सरकार लागिपरेको बताए ।

मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने धारणा राख्दै त्यसका लागि आन्तरिक रोजगारी प्रवद्र्धनसँगै श्रम बजारप्रतिको विश्वास बढाउनेतर्फ उद्योग तथा प्रतिष्ठानको ध्यानार्कषण गराए । 

विभागले आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने उद्योग तथा प्रतिष्ठानलाई विभिन्न सूचकका आधारमा छनोट गरी प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।

सम्बन्धित खबर