२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

'समुदायमा बुबा कक्षा’ले सरोजलाई बनायो जिम्मेवार बुबा

shivam cement
सन्तोष पौडेल
२०८१ असार २ गते १९:०४
'समुदायमा बुबा कक्षा’ले सरोजलाई बनायो जिम्मेवार बुबा

बर्दिया : बारबर्दिया नगरपालिका वडा नम्बर २ कुमरागाउँका २६ वर्षीय सरोज थारु आजभोलि छोरीको स्याहारसुसारमै बढी समय खर्चिन्छन् । प्रेम विवाह गरेका सरोजको पहिलो सन्तानको रुपमा १३ महिने छोरी छिन् । छोराछोरीलाई हुर्काउने र घरको कामकाज महिलाले मात्र गर्नुपर्छ भन्ने जस्ता गलत सामाजिक मान्यतालाई उनले लत्याउन थालेका छन् । आजभोलि सरोज छोरीलाई हेरचाह गर्ने होस् या घरको हरेक काममा श्रीमतीलाई सघाउन तत्पर रहन्छन् ।

राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनामार्फत सञ्चालन गरिएको ‘बुबा कक्षा’ले आफूलाई जिम्मेवार बन्न सिकाएको उनी बताउँछन् । दैनिक बिहानको समयमा श्रीमती र छोरीका लागि समय खर्च गर्ने तालिका उनले बनाएका छन् ।

गर्भावस्थामा श्रीमतीलाई गरेको व्यवहारप्रति उनलाई पछुतो छ । गर्भावस्थामा श्रीमतीलाई गर्भ जाँचका लागि एक्लै स्वास्थ्य संस्थामा पठाएको सम्झदै उनी भन्छन्, ’स्वास्थ्य संस्थाले बुबा बनेकोमा बधाई दिँदै गर्भ जाँचका बेला पठाएको बधाई अनि निमन्त्रणा कार्डको पनि कुनै वास्ता गरिनँ ।’ त्यतिबेला स्वास्थ्य संस्थाले पठाएको त्यो बधाई अनि निमन्त्रणा कार्डको महत्व सरोजले समुदायमा ‘बुबा कक्षा’ सञ्चालन भएपछ‍ि बल्ल बुझे । उनी भन्छन्, ‘मलाई जिम्मेवार बनाउन पो स्वास्थ्य संस्थाले कार्ड पठाएको रहेछ । बुबाको जिम्मेवारी र छोराछोरी हुर्काउन बुबाको भूमिकाबारे केही थाहा थिएन, तर गाउँमा बुबाहरुका लागि सञ्चालन गरिएको कक्षामा सहभागी भएपछि बल्ल धेरै कुराहरु सिक्न पाएँ । बुबा कक्षाले मलाई जिम्मेवार बुबा बन्न सहयोग गर्‍यो ।’

सरोज मात्र होइन आज भोलि गाँउका उनका दौंतरीहरु समेत कक्षामा सहभागी भएर जिम्मेवार बुबा बन्ने प्रयासमा लागिपरेका छन् । सशक्त बालिका परियोजनाअन्तर्गत संस्थाले जिल्लाको बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा बालबालिकाको हेरचाह र घरको जिम्मेवारीहरुमा बुबा अर्थात पुरुष अभिभावकहरुको संलग्नतालाई बढाउने उद्देश्यले ‘बुबा कक्षा’ सञ्चालन गरिरहेको छ । 

कक्षामा लैंगिकता, लिंगभेद र पुरुष, बुबा हुनुको सौभाग्य, स्वस्थ्य गर्भावस्था, गर्भवती जीवन साथीलाई सहयोग र साथ, शिशुको जन्म र बुबाको जिम्मेवारी, बालबालिकाहरूको हेरचाह, बालबालिका हुर्काउने कार्य, अपाङ्गता वा सीमितता भएका बालबालिकाको पहिचान, हेरचाह, स्वास्थ्य र सरसफाइ र विपदमा बुबाको भूमिकालगायतका विषयमा छलफलका माध्यमवाट सहजीकरण गरिने गरिएको परियोजना संयोजक मनोज पौडेलले बताए ।

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाईदेखि सशक्त बालिका परियोजना सञ्चालित छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्थादेखि उनीहरुको सर्वाङ्गिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise