२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

गर्मी बढेसँगै नारायणी अस्पतालमा बढे सर्पदंशका बिरामी

आबिद हुसेन
२०८१ जेठ ३२ गते १७:१३
गर्मी बढेसँगै नारायणी अस्पतालमा बढे सर्पदंशका बिरामी

वीरगञ्ज : गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा सर्पदशंका बिरामीको संख्या अत्यधिक बढेको छ । नारायणी अस्पतालमा पछिल्लो दुई हप्तामा मात्रै सर्पदशंका ६१ जना बिरामी उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । 

जेठ १५ देखि ३१ गतेसम्म अस्पतालमा सर्पदंशका ६१ जना बिरामी उपचारका लागि आएको र तीमध्ये २० जना बालबालिका, २२ जना महिला र १९ जना पुरुष रहेको अस्पतालका सूचना अधिकारी सुनिल राैनियारले जानकारी दिए ।

यसअघि जेठ महिनामा कहिलेकाँही मात्र सर्पले टोकेका बिरामी अस्पतालमा आउने गरेको भएपनि यस वर्ष गर्मी अत्यधिक बढेपछि अस्पतालमा दिनहुँ औसतमा ५-६ जना सर्पदशंका बिरामी आइरहेको अस्पतालको भनाइ छ । नारायणी अस्पतालमा पर्सासँगै बारा, रौतहट र सर्लाही जिल्लाबाट समेत सर्पदशंका बिरामी उपचारका लागि आउने गरेको आकस्मिक कक्षका डाक्टर एराज खानले बताए ।

नारायणी अस्पताालमा केही दिन पहिलेसम्म सर्पदशंका बिरामीलाई लगाउनुपर्ने एन्टी स्नेक भेनम (सुई) को अभाव रहेको भएपनि अहिले भने अभाव नरहेकाे अस्पतालले जनाएको छ । तर विषालु सर्पले डसेर जटिल अवस्थामा पुगेका बिरामीलाई थप उपचारका लागि भर्ना गरेर राख्नुपर्ने अवस्थामा भने आईसीयू बेडको अभावले समस्या भइरहेको डाक्टर खानले बताए ।

उनका अनुसार हिउँद याममा भन्दा गर्मी मौसममा सर्पको सक्रियता बढ्ने गरेकाले सर्पदशंका घटना अत्यधिक हुने गरेको छ । गर्मीमा पानी नपरेर जमिनमुनिको तापक्रम पनि बढ्ने र त्यसले दुलोभित्र बस्ने गरेका सर्पहरु उकुसमुकुस भएर बाहिर निस्किने गरेको डाक्टर खानले बताए ।

सर्पदंशबाट जोगिन घरभित्र र वरिपरिका प्वालहरु टाल्ने, रातिको समयमा हिँडडुल नगर्ने, हिँड्नै परे चप्पल वा जुत्ता लगाएर तथा टर्च लाइट बालेर हिँड्ने, राति सुत्दा झुल टाँगेरमात्रै सुत्ने तथा भुइँमा नसुत्नेलगायतका सावधानीहरु अपाउन डाक्टर खानले सुझाव दिए ।

ADV

सम्बन्धित खबर