२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

पहिलो पटक युरोप पुगेका प्रकाश दूतराजले क्रोएसियामा मच्चाए धमाका

तिलु शर्मा पौडेल
२०८१ भदौ २५ गते २०:०६
पहिलो पटक युरोप पुगेका प्रकाश दूतराजले क्रोएसियामा मच्चाए धमाका

दोहा, कतार : युवा पुस्ताका लोकप्रिय गायक प्रकाश दूतराजले क्रोएसियामा धमाका मच्चाएका छन् । सांगीतिक प्रस्तुति दिन पहिलो पटक युरोपेली मुलुक क्रोएसिया आइपुगेका दूतराजले म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले प्रथम वार्षिकोत्सव तथा तिज पर्वका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा धमाका मच्चाएका हुन् ।

कार्यक्रमका मध्य भागमा स्टेजमा चढेका दूतराजले आफ्ना हिट गीतहरूबाट उपस्थितलाई ननाची सुख दिएनन् । दूतराजको प्रस्तुतिमा कार्यक्रमका प्रमुख अतिथि मोनाका मानार्थ सदस्य मानसिंह धामीसहित एनआरएनए क्रोएसियाका महासचिव हरि घिमिरे, जन प्रगतिशील मञ्च क्रोएसियाका अध्यक्ष लोप्साङ लामा, तामाङ समाज, तमु समाज, सुदूरपश्चिमेली समाजलगायत अन्य संघसंस्थाका प्रतिनिधिहरू र उपस्थित दर्शक छमछमी नाचे ।

वार्षिकोत्सवको केक काट्दै शुरु भएको कार्यक्रम मोना क्रोएसिया अध्यक्ष रुपेश सुन्दासको सभापतित्वमा सम्पन्न भएको हो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि धामीले मोनाले प्रथम वार्षिकोत्सव र तिज सभ्य र भव्यरूपमा सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत मोनालाई यस्तै कार्यक्रमहरू गरी प्रवास रहेका नेपालीहरूलाई देशमै भएको महसुस दिलाउन आग्रह गरे । सपना जुग्जालीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई जसमान दर्नालले सहजीकरण गरेका थिए ।

सांस्कृतिक कार्यक्रममा थुप्रै स्थानीय कलाकारहरूले आ–आफ्ना प्रस्तुति दिएका थिए । ‘दूतराज म्याग्दीकै भएकाले यसपटक उहाँलाई निमन्त्रणा गरिएको हो, आगामी दिनमा म्याग्दीका कलाकारहरूलाई प्राथमिकता दिइने छ,’ मोनाका संस्थापक अध्यक्ष रामकृष्ण शर्माले भने । शर्माले म्यादीबाट रोजगारीका लागि क्रोएसिया आएकाहरूलाई संस्थामा आबद्ध हुन पनि आग्रह गरे । 

कार्यक्रमका सभापति सुन्दासले उपस्थिति सबैलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत संस्थाले यस्तै कार्यक्रमहरू गरिरहने प्रतिबद्धता गरे । कार्यक्रमको अन्त्यमा गायक दूतराजलाई दोसल्ला ओढाएर सम्मान पत्र र कार्यक्रममा प्रस्तुति दिने अन्य कलाकारहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रम गत शनिबार जाग्रेबको प्रेच्को २ ए मा सम्पन्न भएको हो ।

ADV

सम्बन्धित खबर