
सिड्नी : अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका क्रममा साहसिक भूमिका निर्वाह गरेका नेपाली मूलका प्रहरी अधिकारी बिकास भारतीलाई राष्ट्रिय वीरता पुरस्कार प्रदान गरिएको छ । न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीमा कार्यरत सिनियर कन्स्टेबल भारतीलाई सन् २०२६ को राष्ट्रिय प्रहरी वीरता पुरस्कार प्रदान गरिएको हो ।
अस्ट्रेलियाको प्रहरी संगठनहरूको प्रतिनिधित्व गर्ने पुलिस फेडेरेसन अफ अस्ट्रेलियाले बुधबार, अक्टोबर २८ मा राजधानी क्यानबेरामा आयोजित समारोहमा भारतीलाई संयुक्त सन् २०२६ राष्ट्रिय प्रहरी वीरता पुरस्कार प्रदान गरेको हो । अस्ट्रेलियाली प्रहरी र सञ्चारमाध्यमका अनुसार, उनले गत वर्ष सिड्नीको क्रोयडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको साहस र कर्तव्यनिष्ठाको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।
न्यु साउथ वेल्स प्रहरीअन्तर्गत बर्वुड पुलिस एरिया कमान्डमा कार्यरत भारती सन् २०२५ अक्टोबर ५ मा क्रोयडन पार्कमा भएको गोलीकाण्डमा घटनास्थल पुग्ने पहिलो प्रहरी अधिकारीमध्ये एक थिए । घटनाका क्रममा आफू पनि गोलीको जोखिममा परेका बेला उनले एक कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए । त्यसैगरी, गोली लागेर घाइते भएका एक सर्वसाधारणलाई सहयोग गरेका थिए ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरी र एसबीएस नेपालीले सार्वजनिक गरेको विवरणअनुसार, भारतीको साहस, नेतृत्व क्षमता र अरूको सुरक्षालाई प्राथमिकता दिने व्यवहार पुरस्कारका लागि महत्त्वपूर्ण आधार बनेका थिए ।
पुरस्कार ग्रहण गर्दै भारतीले आफूले अस्ट्रेलिया आउँदा यस्तो सम्मान प्राप्त गर्ने कल्पनासमेत नगरेको बताएका छन् । सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आएका उनले यो सम्मान आफ्नो लागि गौरवको विषय भएको बताए ।
‘मेरो नाम पुरस्कारमा उल्लेख भए पनि प्रहरी सेवा व्यक्तिगत प्रयासले मात्र सम्भव हुँदैन,’ भारतीले भनेका छन्, ‘मैले सम्मान पाएको काम सम्भव बनाउन मेरा सहकर्मीको सहयोग, तालिम र विश्वासको महत्त्वपूर्ण भूमिका छ । म यो सम्मान घटनाका बेला खटिएका सहकर्मीसँग बाँड्न चाहन्छु ।’
उनले आफूलाई स्वागत गरेको र समुदायको सेवा गर्ने अवसर दिएको देशमा काम गर्न पाउनु आफ्नो सौभाग्य भएको पनि बताएका छन् । प्रहरीको पोसाक लगाउन पाएकोमा गर्व लागेको उल्लेख गर्दै उनले सहकर्मीप्रति आभार व्यक्त गरेका छन् ।
न्यु साउथ वेल्स प्रहरी कमिस्नर माल लानयनले पनि भारतीको साहसको प्रशंसा गरेका छन् । जोखिमपूर्ण परिस्थितिमा आफ्नै सुरक्षालाई पछाडि राखेर अरूको रक्षा गर्नु असाधारण काम भएको उल्लेख गर्दै उनले भारतीले प्रहरी सेवाको शपथ र जिम्मेवारीलाई व्यवहारमा उतारेको बताएका छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले पनि संघीय संसद्को प्रश्नोत्तर सत्रमा भारतीको साहस र कर्तव्यनिष्ठाको प्रशंसा गरेका छन् । अक्टोबर २८ मा आयोजित राष्ट्रिय प्रहरी वीरता पुरस्कार समारोहमा सम्बोधन गर्दै उनले भारतीसहित जोखिमपूर्ण अवस्थामा समुदायको सुरक्षा गर्ने प्रहरी अधिकारीहरूको योगदानको सम्मान गरेका थिए ।
के भएको थियो क्रोयडन पार्कमा ?
सन् २०२५ अक्टोबर ५ को साँझ सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने क्रोयडन पार्कमा भएको गोलीकाण्डले स्थानीय समुदायमा त्रास फैलाएको थियो । जर्जेस रिभर रोडस्थित एउटा भवनबाट एक व्यक्तिले सडकमा गुडिरहेका सवारीसाधन र सर्वसाधारणतर्फ अन्धाधुन्ध गोली चलाएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अस्ट्रेलियाको एबीसी न्युज र रोयटर्सका समाचारअनुसार, घटनाक्रम आइतबार साँझ करिब ७ः४५ बजे सुरु भएको थियो । गोली चलेपछि प्रहरीले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो । गोलीका कारण सवारीसाधन र सडकमा रहेका संरचनामा क्षति पुगेको थियो । घटनाका क्रममा एक पुरुष गम्भीर रूपमा घाइते भएका थिए भने अन्य सर्वसाधारणले सामान्य चोटपटक र त्रासका कारण उपचार लिनुपरेको थियो ।
प्रहरीले करिब दुई घण्टापछि ६० वर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । घटनास्थलमा खटिएका प्रहरी अधिकारीहरूले जोखिमपूर्ण परिस्थितिमा कारबाही अघि बढाएका थिए । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरेको थियो । प्रारम्भिक विवरणमा घटनालाई आतंकवाद वा संगठित अपराधसँग जोड्ने आधार नरहेको जनाइएको थियो ।
यही घटनाका क्रममा भारतीले देखाएको साहसलाई अहिले अस्ट्रेलियाको राष्ट्रिय स्तरमा सम्मान गरिएको हो । उनको सम्मानले अस्ट्रेलियामा प्रहरी सेवामा कार्यरत नेपाली मूलका व्यक्तिको योगदानलाई समेत चर्चामा ल्याएको छ ।